कालापानीसहितको नक्सा बनाउन सिक्दै विद्यार्थी


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल विद्यार्थी संघले (नेविसंघ)ले स्कूलका विद्यार्थीहरुलाई भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीसहितको भू–भाग समेटेर नेपालको नक्सा बनाउन सिकाउने अभियान सुरु गरेको छ ।

‘चिनौ सिमाना, जोगाउ माटो’ नाम दिइएको उक्त अभियान विहीबारदेखि सुरु भएको हो ।

यस अभियान अन्तर्गत नेविसंघका नेताहरुले पहिलो दिन नेपालकै पहिलो विद्यालय दरवार हाइस्कूलका विद्यार्थीहरुलाई भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको इलाकालाई समेटेर नेपालको नक्सा तयार पार्न सिकाए ।

नेविसंघ नेता नवराज त्रिपठीको संयोजकत्वमा सुरु भएको अभियान अन्तर्गत नेविसंघका नेताहरुले दरबार हाइस्कूलका माध्यमिक तहका विद्यार्थीहरुलाई अतिक्रमित कालापानी सहितको इलाका समेटेर नेपालको नक्सा तयार पार्न सिकाए थिए ।

नेविसंघ नेताहरु गोपि शिवाकोटी, रुपा पाखरेल, रमेश वास्ताकोटी, मनिष सिम्खडा ,सुसान्त तामाङ , क्रान्ति राज पौडेल , सरोज थापा , ब्लुओन सिग्देल ,पद्मा भुसाल लगायतको उपस्थिती थियो ।

कार्यक्रमका प्रमुख अतिथि गोपि सिवाकोटीले विद्यार्थीहरुलाई नेपालको सीमानाबारे जानकारी दिदै भारतले अतिक्रमण गरेको भूभागबारे जानकारी दिएका थिए ।

‘सरकारले विद्यार्थीहरुलाई नेपालको गलत नक्सा पढाइरहेको छ । कालापानी सहितको नक्सा अझैसम्म पनि सरकारले सार्वजनिक नगरेर भविष्यका कर्णधारहरुलाई नेपालको सीमानाबारे गलत जानकारी दिनु राष्ट्रघात हो ।

यो अभियान अन्तर्गत हामीले सरकारको गल्तीलाई सच्याउने प्रयत्न गरेका छौं । विद्यार्थीहरुलाई नेपालको सीमानाबारे सही जानकारी दिने हाम्रो प्रयास हो’, त्रिपाठीले भने । नेबिसंघका नेता मनिस सिम्खडाले यो अभियान लिएर नेविसंघ देशभरका विद्यालयहरुमा पुग्ने बताए ।