दीगो र सुरक्षित निर्माण गर्न विज्ञको सुझाव


न्युज अफ नेपाल, काठमाडौं ।

समयमै र गुणस्तरीय निर्माण हुन नसकेकोमा आक्रोश बढिरहेका बेला नेपालसहित अन्य १३ मुलुकका विज्ञहरुको सम्मेलनले १२ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।

स्क्याफले तीन दिनसम्म काठमाडौंमा आयोजना गरेको उज्जवल भवियका लागि उत्थानशिल निर्माण विषयक सम्मेलनमा सहभागि विज्ञहरुहरुले खुल्ला प्रतिस्पर्धाका नाममा अति न्यून रकममा ठेक्का दिने व्यवस्था कानूनतः अन्त्य गर्न सुझाव दिएका छन् ।

उनीहरुले काम गर्नसक्ने दररेटमा प्रतिस्पर्धा गर्नुपर्ने र व्यवसायीक संस्थाहरुले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत कम्तिमा एक प्रतिशत रकम उत्थानशिल संरचना निर्माणमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् ।

विज्ञहरुले निर्माण क्षेत्रमा दक्ष कामदारको उत्पादन, निर्माणका प्रत्येक चरणमा सबै सरोकारवालाको सार्थक सहभागिता र नेपालका ठूला आयोजनामा नेपाली परामर्शदाता तथा निर्माण व्यवसायीलाई संलग्न गराउनसके उत्थानशिल संरचना निर्माण हुनसक्ने दावी गरेका छन् ।

नेपालले गोर्खा भूकम्पपछि सिकेका अनुभवलाई विश्व समुदायसम्म पुर्याउन आवश्यक रहेको सम्मेलनका सहभागिहरुको जोड दिइरहेका बेला राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञवालीले धरहरा पुर्ननिर्माणसँगै भूकम्प संग्रहालय बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

उहाँले विश्वविद्यालय तहमा छुट्टै अनुसन्धान केन्द्रको स्थापना समेत गर्न लागिएको बताउनुभयो ।

तीन दिनको सम्मेलन उत्थानशिल संरचना निर्माण, यसका चुनौति, जारी प्रयत्न, नविनतम प्रविधि र पुरातत्व संरक्षण लगायतका विषयमा केन्द्रित रहेर विज्ञहरुका कार्यपत्र प्रस्तुति रहेको स्क्याफका महासचिव कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

स्क्याफको २९ औं बार्षिकोत्सवका अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिकास्थित नेपाली इन्जिनियरहरुको संस्था र सिईएआईसँग स्क्याफले छुट्टा छुट्टै सम्झौता गरेको सम्मेलन व्यवस्थापक ठाकुर प्रसाद शर्माले जानकारी दिनुभयो ।

सम्मेलनको समापनमा समारोहमा स्क्याफका अध्यक्ष राजेश थापाले घोषणापत्रको कार्यान्वयनमा सबै पक्ष जिम्मेवार हुने अपेक्षा गर्नुभयो । सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्नुभएको थियो ।