नेकपा सचिवालय बैठक : ओली पाँच वर्ष नै प्रधानमन्त्री प्रचण्ड कार्यकारी अध्यक्ष

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्रीमा निरन्तरता दिने निर्णय गरेको छ।
बिहीबार बसेको बैठकले प्रधानमन्त्रीमा ओलीलाई पाँच वर्ष नै निरन्तरता दिने निर्णय गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको हो।
पार्टी एकता भएको १८ महिनापछि प्रचण्डले पार्टीको कार्यकारी अधिकार प्राप्त गर्नुभएको छ। आलोपालो सहमतिअनुसार लामो समयसम्म पनि अधिकार प्रत्यायोजन नभएपछि प्रचण्डले अध्यक्ष ओलीसँग पार्टी सञ्चालनको अधिकार दिन आग्रह गर्नुभएको थियो।
अध्यक्षद्वय ओली र प्रचण्डबीच पटक–पटक भएको वार्तापछि सचिवालय बैठकले प्रचण्डलाई पार्टी सञ्चालनको एकल अधिकार दिने निर्णय गरेको छ।गत भदौमा प्रधानमन्त्री उपचारका लागि सिंगापुर जाने क्रममा पनि प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मेवारी दिइएको थियो।
तर प्रधानमन्त्री फर्किएलगत्तै उहाँ पुनः अधिकारबाट वञ्चित हुनुभएको थियो। पार्टी सञ्चालनको कार्यकारी अधिकार लिएसँगै यही कार्यकालमा प्रचण्ड प्रधानमन्त्री हुने सम्भावना टरेको छ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वय ओली र प्रचण्डको  वरीयताक्रम यथावत् रहने गरी प्रचण्डलाई पार्टी सञ्चालनको कार्यकारी अधिकार दिइएको बताउनुभयो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीकोे हैसियतमा ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने निर्णय गरेको बताउनुभयो।
आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने निर्णय भएको उल्लेख गर्दै उहाँले सरकारको नेतृत्व ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने बताउनुभयो।
‘पार्टी र सरकार सञ्चालन अध्यक्षद्वय ओली र प्रचण्डबीचको आपसी सल्लाहमा गर्ने निर्णय भएको छ, पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय भएको छ।’ –प्रवक्ता श्रेष्ठले भन्नुभयो।
पार्टीभित्र अधिकार बाँडफाँड र मन्त्रीमण्डल पुनर्गठनको विषयलाई लिएर बुधबार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो।
लगत्तै बसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अधिकारसहितको अध्यक्ष दिने निर्णयलाई अर्थपूर्णरूपमा लिइएको छ।
पार्टी एकीकरण भएको १८ महिनाको अवधिमा अधिकांश पार्टी एकीकरणको काम सम्पन्न भए पनि स्थानीय कमिटी गठनको काम अझै बाँकी रहेको छ।
२०७४ असोज १७ गते तत्कालीन एमाले र माओवादीबीच चुनावी तालमेल र पार्टी एकताको सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर भएको थियो। २०७४ कात्तिक १५ गते एमाले–माओवादीले प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि ६०/४० का अनुपातमा निर्वाचन क्षेत्र बाँडफाँट भएको थियो।
एमाले–माओवादीको गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेपछि २०७४ फागुन ३ गते केपी ओली प्रधानमन्त्री बन्नुभएको थियो। ओली प्रधानमन्त्री बन्नुभएपछि एकीकृत पार्टीको नामलगायत सात बुँदामा २०७४ फागुन ७ गते सहमति भएसँगै २०७५ जेठ ३ गते दुई पार्टी एकीकरण भएर नेकपा घोषणा भएको थियो।
पार्टी एकीकरण भएको १८ महिनासम्म प्रचण्ड पार्टी अध्यक्ष भए पनि जिम्मेवारी नहुँदा भूमिकाविहीनको अवस्थामा रहनुभएको थियो।
प्रचण्डले पार्टी अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सहमति पुनः दोहो¥याएपछि अध्यक्षद्वय ओली र प्रचण्डबीच केही समय सम्बन्ध चिसिएको थियो।
पार्टी सञ्चालनको कार्यकारी अधिकार प्राप्त गर्नुभएका प्रचण्डलाई पार्टीभित्रको गुट व्यवस्थापन गरेर अगाडि बढ्ने चुनौती रहेको छ। पार्टी एकीकरण भएसँगै पार्टीभित्र तीनवटा गुट सक्रिय रहेका छन्।
  •  १८ महिनापछि प्रचण्डले पाए जिम्मेवारी 
  •  आलोपालो सहमति तोडियो
  •  राष्ट्रपतिसँग ओली–प्रचण्डको शीतल निवासमा भेटवार्ता