शीतल निवासमा भएन शपथको काम मन्त्रीहरू दिनभर जिल्लाराम

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।
नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति भवन शीतल निवास पुगेर मन्त्रीमण्डल पुनर्गठनका बारेमा जानकारी गराएसँगै बुधबार नै मन्त्रीमण्डल पुनर्गठन हुने निश्चितजस्तै भएको थियो।
मन्त्रीमण्डल पुनर्गठन गर्ने जानकारीसँगै शीतल निवासले शपथको तयारी गरेको थियो भने राष्ट्रपतिसँगको भेटलगत्तै अध्यक्षद्वय ओली र प्रचण्ड पार्टी सचिवालयको बैठकमा सहभागी भएपछि मन्त्रीमण्डल पुनर्गठनको टुंगो लाग्ने अनुमान गरिएको थियो।
तर प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच मन्त्रीमण्डलबाट हटाउने मन्त्रीका बारेमा सहमति जुट्न नसक्दा अन्तिम समयमा आएर मन्त्रीमण्डल पुनर्गठनको काम स्थगित भएको थियो।
प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्रीको कार्यव्यस्तता कारण जनाए पनि भित्री कारण भने ओली र प्रचण्डबीच अझै सहमति जुट्न नसक्नु भएको सचिवालयका एक सदस्यले बताए।
उनका अनुसार मन्त्रीमण्डल पुनर्गठनसँगै सभामुखका बारेमा पनि एकसाथ टुंगो लगाउनुपर्ने अडान प्रचण्डले राख्नुभएका कारण मन्त्रीमण्डल पुनर्गठनको काम लम्बिएको हो।
ओली र प्रचण्डबीच अझै पनि कुन–कुन मन्त्री हटाउने र क–कसलाई ल्याउने भन्ने विषयमा सहमति जुट्न बाँकी रहेको बताइएको छ।
पार्टी सञ्चालनको कार्यकारी अधिकार प्राप्त गर्नुभएका प्रचण्डको सुझावलाई समेत आधार बनाएर ओलीले मन्त्री हेरफेर गर्नुहुने भएको छ।
प्रधानमन्त्रीले कार्यसम्पादनमा कमजोर रहेका पाँचदेखि नौ जनासम्म मन्त्री हटाएर नयाँ मन्त्री ल्याउन चाहनुभएको  छ।
रामेश्वर राय यादवलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिएको छ। प्रधानमन्त्री ओलीले नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र रामवीर मानन्धरलाई शहरी विकास राज्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ।