उच्च अदालतमा १५ न्यायाधीश सिफारिस

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशमा १५ जनाको नाम सिफारिस गरेको छ। परिषद्को बुधबार बसेको बैठकले जिल्ला न्यायाधीश, सरकारी वकिल र नेपाल बारबाट उच्च अदालतमा नाम सिफारिस भएको हो।

न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीश, सरकारी वकिल र नेपाल बारबाट उच्च अदालतमा नाम सिफारिस

देशभरका उच्च अदालतमा १२ न्यायाधीशको पद रिक्त रहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अद्वध्यक्षतामा बसेको न्यायपरिषद्को बैठकले सिफारिसको निर्णय गरेको हो।

जिल्ला न्यायाधीशबाट ६, अधिवक्ताबाट ८ र न्याय सेवाका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतबाट १ गरी १५ जना नियुक्तिका लागि सिफारिस गरेको न्यायपरिषद् सचिवालयले जनाएको छ।

जिल्ला न्यायाधीशहरू किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल र नरीश्वर भण्डारीलाई उच्च अदालतका लागि सिफारिस गरिएको छ।

न्यायाधीश किरण पोखरेल उच्च अदालत विराटनगर ओखलढुंगा इजलास, श्रेष्ठ सुर्खेत जुम्ला इजलास, पाण्डे पोखरा बाग्लुङ इजलास, अधिकारी जनकपुर राजविराज इजलास, रमेशराज पोखरेल जनकपुर वीरगन्ज इजलास र भण्डारी उच्च अदालत विराटनगरका लागि सिफारिस भएका हुन्।

त्यस्तै न्याय सेवाका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतमध्येबाट गीताप्रसाद तिम्सिना उच्च अदालत जनकपुर राजविराज इजलासका लागि सिफारिस हुनुभएको छ।अधिवक्तामध्येबाट मिलनकुमार राई (भोजपुर) उच्च अदालत दीपायल, राजुराम सिलवाल (चितवन) उच्च अदालत विराटनगर, ओखलढुंगा इजलास, मेरिना श्रेष्ठ (डोटी) उच्च अदालत तुलसीपुर, मीना गौतम सेढाईं (मोरङ) उच्च अदालत पाटन, सोमकान्त मैनाली (चितवन) उच्च अदालत विराटनगर, धनकुटा इजलास, देशबहादुर सार्की (भोजपुर) उच्च अदालत तुलसीपुर, बुटवल इजलास, रेखा थापा पाण्डे (सुनसरी) उच्च अदालत पाटन, किरण कुमारी गुप्ता (सप्तरी) उच्च अदालत पोखराका लागि सिफारिस हुनुभएको छ।

उच्च अदालतका लागि जिल्ला न्यायाधीशका रूपमा ५ वर्ष काम गरेकोलाई वा अधिवक्ताका रूपमा निरन्तर कम्तीमा १० वर्ष वकालत गरेको वा कानुनको क्षेत्रमा निरन्तर १० वर्ष अध्यापन र अन्वेषण गरेको वा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारीका रूपमा कम्तीमा ५ वर्ष काम गरेको व्यक्तिलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

त्यसै गरी परिषद्को बैठकले उच्च अदालतका आठ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ। उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीश प्रकाशचन्द्र गजुरेल उच्च अदालत जनकपुरको राजविराज इजलासमा, तुल्सीपुर इजलासका शिवनारायण यादव इलाम इजलासमा, विराटनगरका विनोद शर्मा सुर्खेतमा सरुवा हुनुभएको छ।

यसै गरी उच्च अदालत सुर्खेतका कृष्ण गिरीको वीरगन्ज इजलासमा, सुर्खेतकै रमेशकुमार खत्री पोखरामा, इलाम इजलासका रवि शर्मा हेटौंडा इजलासमा, दीपायलका जनक पाण्डे वीरगन्ज इजलास र ओखलढुंगा इजलासका राजेशकुमार काफ्ले नेपालगन्ज इजलासमा सरुवा हुनुभएको परिषद्ले जनाएको छ।