भुटानमा नेपाललाई फाइदा भएन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

भुटानमा नेपालले विश्वकप छनोटअन्तर्गत् दोस्रो चरणको होम गेममा मंगलबार हार बेहोरेको छ। नेपालमै हुनु पर्ने उक्त खेल भुटानको चाङलिमिथाङ रंगशालाको मैदानमा आयोजना भएको हो।

काठमाडौंको दशरथ रंगशाला पुरै निर्माण नभएको भन्दै एएफसीले त्यहाँ खेल आयोजना गर्न अस्विकार गरेको थियो।

एन्फाले यसको बदला तटस्थ मैदान भुटान रोजेको थियो। यद्दपि कुवेत फुटबल संघले खाडी मुलुकमै खेल आयोजना गर्न लबिङ गरेको थियो। तर एएफसीले उनीहरूको लबिङलाई असफल बनाउँदै नेपालको पक्षमा निर्णय लिएको थियो।

एन्फाको अनुसार नेपालकै मौसम झै भएकोले भुटानमा नेपाललाई फाइदा हुन्छ भन्ने थियो। तर नेपाल कुवेतसँग १–० ले हारेपछि नेपाललाई भुटानमा केही पनि फाइदा भएन। योसँगै नेपालले कुवेतविरुद्धको होम तथा अवे खेलमा हार बेहोरेको छ।

यसअघि कुवेतमा भएको अवे खेलमा नेपाल ७–० ले पराजित भएको थियो।पहिलो हाफमा ब्यहोरेको एउटै गोल नै काफी भयो नेपाललाई हार स्वीकार गर्न। खेलको २८औं मिनेटमा कुवेतका कप्तान बडेर अल मुटावाले दर्शनीय गोल गरेका थिए।

उनले नेपालका दुई डिफेन्डरलाई छल्याएर डिबक्स छेउबाट बायाँ खुट्टाले गरेको प्रहारले नेपालको जाली चुम्न पुगेको थियो।

नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले दायाँतिर डाइभ गरेर बललाई छेक्न प्रयास गरेका थिए। तर प्रहार निकै शसक्त हुँदा उनी डाइभ गर्न अगाडि नै बलले जाली छोइसकेको थियो।

नेपालका प्रमुख स्ट्राइकर विमल घर्तीमगर र अन्जन विष्टको अनुपस्थितले पनि नेपाललाई फरक पारेको थियो। विमल, अन्जन, दिनेश राजवंशी र सन्तोष तामाङ भुटान उड्न अघिल्लो राति शुक्रबार नाइट क्लबमा छिरेका थिए।

यो घटनापछि एन्फाले यी चारै खेलाडीलाई टोलीबाट निष्कासित गरेको थियो। उनीहरू नहुँदा सुवास गुरुङले नेपालको राष्ट्रिय टोलीबाट डेब्यु पनि गरेका थिए। उनी अन्तिमतिर तेज तामाङको सट्टामा सब्सच्युट भएका थिए।

नेपालले अब विश्वकपअन्तर्गत छनोटमा तीन वटा होम गेम खेल्न बाँकी छ। जसमा अस्टे«लिया, जोर्डन र चिनियाँ ताइपेइविरुद्ध हुन्। यसअघि अवे खेलमा नेपालले अस्टे«लियासँग ५–० र जोर्डनसँग ३–० ले हार आत्मसात गरेको थियो।

ताइपेइविरुद्धको खेलमा भने अन्जनको दुई गोलको सहयोगमा नेपालले २–० को ऐतिहासिक जित हात पारेको थियो। विश्वकप २०२२ र एसियन कप २०२३ अन्तर्गतको सो छनोटमा नेपाल समूह बी मा रहेको छ।