२१ खेलको वैदेशिक प्रशिक्षण

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालबाट ५९९ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष तयारी गरिएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ।

समितिले २१ खेलले वैदेशिक प्रशिक्षण प्राप्त गरेको जनाएको छ। मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै समितिले सबै खेलमा नेपालले सहभागिता जनाउने गरी विशेष तयारी गरिरहेको समितिका संयोजक रिमबहादुर रानाभाटले बताए।

नेपालबाट ३१२ पुरुष र २८७ महिला खेलाडीले सागमा सहभागिता जनाउन लागेको रानाभाटले बताए।
समितिले फेन्सिङ, जुडो, स्क्वास, टेबलटेनिस, पौडी, तेक्वान्दो, टेनिस, भारोत्तोलन, भलिबल, कवड्डी, ह्यान्डबललगायतका खेलहरू गरी २१ खेलका खेलाडी बैदेशिक प्रशिक्षणमा सहभागी भएको र केहि वैदेशिक प्रशिक्षणमै रहेको जनाएको छ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई दुर्घटना न्यूनीकरण अभिमुखी तालिम, मनोवैज्ञानिक अभिप्रेरित, डोपिङ, पुनर्ताजगी, पोषण तथा खुराक, प्रशिक्षण विधि विज्ञानलगायतका विशेष प्रशिक्षण समेत दिइएको थियो।