पूर्वप्रम सरिफलाई विदेश जाने अनुमति

0
Shares

इस्लामावाद, (एजेन्सी) । 

भ्रष्टाचारको अभियोगमा कारगार सँजाय भोग्दै आएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले मंगलबार स्वास्थ उपचारका लागि पाकिस्तानबाट बेलायतको राजधानी लन्डनतर्फ प्रस्थान गरेका छन्।

तीनपटक प्रधानमन्त्री रहिसकेका सरिफको रोग प्रतिरोधात्मक प्रणालीमा गडबडीलगायत अन्य थुप्रै स्वास्थ्य सम्बन्धी समस्या छन्। लाहोर उच्च अदालतले शनिबार सरिफको प्रतिबन्ध हटाएको थियो।

तर सोमबार मात्र सरकारले सो निर्णयलाई सदर गरेको हो। प्रधानमन्त्री इमरान खानको सरकार उनलाई रिहाई गर्न अनिच्छुक रहेको थियो।

सात वर्ष लामो कारवास सँजाय सुनाइएका सरिफले अहिलेसम्म १२ महिनाभन्दा कम सँजाय मात्र भुक्तान गरेका छन्। उनले विदेश जानुअघि ४ करोड ४० लाख अमेरिकी डलरबराबरको बीमापत्रमा हस्ताक्षर गर्नुपर्दछ।

तर अदालतले भने उनलाई यस मामिलामा छुट दिने निर्णय गरेको छ। सरिफको गिर्दो स्वास्थ्य अवस्था र उनीमाथि लगाइएको भ्रमण प्रतिबन्धलाई लिएर झण्डै एक महिनादेखि पाकिस्तानको प्रमुख समाचार बन्दै आएको हो।

गत महिना उनको रगतको प्लेटलेट संख्या घटेर १६ हजार पुगेको तथा एकजना स्वस्थ्य व्यक्तिमा सो संख्या करिव १ लाख ५० हजार हुने गरेको लाहोरमा एकजना चिकित्सकले बीबीसी उर्दूका पत्रकार उमार नान्गियानालाई बताएका छन्।

६९ वर्षीय सरिफमा मधुमेह, मृगौला र मुटुसम्बन्धी समस्या पनि छन्। पाकिस्तानमा स्वास्थ्य उपचारसम्बन्धी यथेष्ट सुविधाहरु नभएको आधारमा उनलाई उपचाररार्थ विदेशमा लानका लागि सरकारी र निजी मेडिकल बोर्ड दुवैले सिफारिश गरेका थिए।