दुई अस्ट्रेलियाली राजनीतिज्ञलाई चिनियाँ भिसा अस्वीकार

0
Shares

सिडनी, (एजेन्सी)। 

चीन प्रवेशका लागि अस्विकृत दुईजना अस्ट्रेलियाली राजनीतिज्ञले सोमबार आफूहरुले चीनको आलोचनाका लागि खर्चेका शब्दहरु फिर्ता नलिने बताएका छन्।

सरकारी पदमा रहेका एन्ड्रयु हास्टी र जेम्स प्याटर्सन आगामी महिना चीनको अध्ययन भ्रमणमा जाने योजना थियो।

तर तिनीहरुका भिसा आवेदन अस्वीकार गरिएको छ। साथै चिनियाँ दूतावासले यदि तिनीहरुले चीनको बारे दिइएको अभिव्यक्तिप्रति इमानदारितापूर्वक क्षमा याचना गरेको खण्डमा मात्र तिनीहरुलाई चीन भ्रमण गर्न दिइने पनि बताएको छ। तर हास्टी र प्याटर्सन दुवैले त्यो माग अस्वीकार गरेका छन्।

यी कन्जरभेटिभ राजनीतिज्ञद्वयले चीनको मानवअधिकार अभिलेखलाई लिएर र चीनले अस्ट्रेलियाली राजनीतिमा गरेको भन्दै आलोचना गरेका थिए।

बौद्धिक समूह चाइना म्याटर्सले तेस्रो राजनीतिज्ञ लेबर पार्टीका विधायक म्याट कोगलाई भने भ्रमण भिसा नरोकिएको जनाएको छ। अस्ट्रेलियामा चिनियाँ प्रभाव बढ्दै गइरहेको विषयलाई लिएर निकै बहश शुरु भइसकेको छ।

केही राजनीतिज्ञले त चीनले अनुदान सहयोग दिएर अस्ट्रेलियाली राजनीतिमा घुसपैठ गर्ने प्रयास गरिरहेको आरोपसमेत लगाउन थालेका छन्।

तर केही समूहले भने यस्ता वहशका कारण अन्धो राष्ट्रवाद बढ्ने तथा दुई राष्ट्रबीचको सम्बन्धमा चोट पुग्ने बताउन थालेको छ।

हास्टी र प्याटर्सनलाई भिसा अस्वीकार गरिएको विषयलाई लिएर चिनियाँ दूतावासका प्रवक्ताले भनेका छन्, ‘हामी हाम्रो मुलुकका बारे अनाश्यक टिका टिप्पणी गर्नेहरुलाई देशमा स्वागत गर्ने पक्षमा छैनौं।

तिनीहरुले आफूले बोलेका कुराप्रति पश्चाताप गर्दै चीनलाई उद्देश्य र कारणका साथ हेर्ने चीनको प्रणाली र चिनियाँ जनताले गरेको विकासको नमुनालाई सम्मान गर्ने गरेमा आपसी वार्ताका लागि सदैव द्वार खुला रहनेछ।