सातौ विश्व शौचालय दिवस मनाइयो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

सातौं बिश्व शौचालय दिवसका अवसरमा मंगलबार काठ माडौंमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रम आयोजना गरियो। कार्यक्रममा सांसद जीवनराम श्रेष्ठले काठमाडौं महानगरपालिकाभित्र प्रबिधियुक्त सुबिधा सम्पन्न र सहुलियत सार्वजनिक शौचालय निर्माणलाई तीब्रता दिन आग्रह गर्नुभएको छ।

उहाँले शौचालयको समस्या समाधान भयो भने सहरमा आवतजावत गर्ने यात्रुको मुख्य समस्या समाधान हुने बताउनुभयो। महानगरका प्रबक्ता ईश्वरमान डंगोलले भएका सार्वजनिक शौचालयको अवस्था सुधार गर्ने र नयाँ निर्माण गर्ने कामलाई बराबरी महत्व दिएर महानगरले काम गरिरहेको बताउनुभयो।

यसरी सुधार गरिने र नयाँ बनाइने शौचालयलाई आवश्यकता आधारमा स्मार्ट, सहुलियत र व्यवस्थित गरिने उहाँको भनाइ थियो। कार्यक्रममा बोल्दै सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कामपाले २० प्रकारका ढाँचामा सार्वजनिक शौचालयको डिजाइन गरेको जानकारी दिनुभयो।

सो अवसरमा उहाले शौचालयको विषयमा महानगरले तयार पारेको योजना बारे जानकारी गराउनुभएको थियो। उपाध्यक्ष बस्नेतले नया ढाँचामा निर्माण गर्न लागिएको शौचालयमा एक पटकमा १ जनाका लागि मात्र उपयुक्त हुनेदेखि एकैपटक ३ जनासम्मले प्रयोग गर्न सक्ने खालका, शौच कार्यका साथै नुहाउन मिल्ने खालका पनि छन्।

यिनीहरू सबैको पहुँचयुक्त हुन्छन्।उहाँका अनुसार यसरी बनाइएका डिजाइन कम्तीमा १५ लाख रुपैयाँ र बढीमा १ करोड रुपैयाँ लागतका छन्। 

राष्ट्रिय सरसफाइ तथा समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाका अनुसार अहिले पनि नेपालमा सरसफाइको अभावमा ५ बर्ष मुनिका औसतमा दैनिक ४ जना अर्थात् बार्षिक करीब १४ सय बालबालिकाको मृत्यु भइरहेको छ।

सन् २००० मा बार्षिक १० हजार ८ सय रहेको यस प्रकारको मृत्युदर सन् २००८ मा ७ हजारमा झरेको थियो। यसप्रकारको समस्या सहरी क्षेत्रमा नभए पनि सहरी क्षेत्रमा पूर्ण सरसफाइका लागि काम गर्नुपर्ने आवश्यकता देखिन्छ।

कार्यक्रममा वाटर एडका राष्ट्रिय निर्देशक तृप्ती राईले महिलामैत्री र सुरक्षित शौचालय बनाउनु पर्नेमा जोडदिनुभयो।पुर्वमन्त्री गणेश साहले सहरमा सार्वजनिक शौचालय निर्माण गर्ने कुरासँगै यसको दिगो उपयोग गर्ने कुरा, शौचालयबाट निष्कासन भएको फोहोर व्यवस्थापनको कुरा एकैपटक गर्नुपर्ने बताउनुभयो।

पूर्वाधार निर्माण र सचेतनामुलक कार्यक्रम सँगसँगै लैजानुपर्ने आवश्यकता देखाउनुभयो। यो पूर्ण सरसफाइ र दिगो बिकाससँग सम्बन्धित काम हो। यसलाई महत्वदिनुपर्छ, पूर्वमन्त्री शाहको भनाइ थियो।

काठमाडौं महानगरपालिका र वाटर एड नेपालको सहयोगमा खानेपानी र सरसफाइका लागि गैरसरकारी संस्था गुथीले आयोजना गरेको प्रभातफेरीमा खानेपानी तथा ढल निकास बिभाग, जनस्वास्थ्य तथा वातावरण संस्था (एन्फो), फोहोरमैला व्यवस्थापन संघ, एरोसान, पश्चिम पाइला, नेपाल साइकल सोसाइटी, त्रि—चन्द्र क्याम्पस, युवा रेडक्रस सर्कल, वातावरण इन्जिनियर समाज (सोफेन), नेपाल वाटर कन्जरभेसन फाउन्डेसन, काठमाडौं बिश्वबिद्यालय, अर्टिजम केयर नेपाललगायत सरसफाइका क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघसंस्थाको सहभागिता थियो।