‘भाषिक समानताका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : जोशी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले जातीय र भाषिक समानताका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ।नेवाः पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै उहाँले सो विषयमा जोड दिनुभएको हो।

‘नेपाल बहुजातीय र बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो भनेर संविधानको प्रस्तावनामा नै लेखिएको छ, तर व्यवहारमा भाषिक, जातीय विभेद कायमै छ। ’ वरिष्ठ संस्कृतिविद् जोशीले भन्नुभयो ‘अहिलेको अवस्थामा नेपाली भाषा बाहेक अरु भाषाहरू संकटमा पर्दै गएको छ।

राज्यको तर्फबाट पोषण पाएका संस्कृतिमात्र बाँच्ने र अरु लोप हुँदै खतरा दिनप्रतिदिन बढ्दै गएको छ। ’ यस्तो अवस्थामा भाषा, संस्कृति जोगाउन पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुपर्ने जोशीको धारणा रहेको छ।
फराकिलो दृष्टिकोण राखेर भाषिक र सांस्कृतिक विभेदलाई अन्त्य गर्न पत्रकारहरूले कलम चलाउन आग्रह गर्दै उहाँले भन्नुभयो ‘ भाषा र संस्कृति बचाउने कुरा गर्दा केहीले साम्प्रदायिकताको आरोप लगाउने गरेको छ।

तर आरोप सही होइन। भाषा र संस्कृति हराउँदै गएको पीडा त्यस्तो आरोप लगाउने मान्छेलाई के थाहा हुन्छ ?।’जोशीले भन्नुभयो ‘हरेक नेपालीले आफू जनसुकै जातमा जन्मिएको भएपनि उसले तामाङ भाषा, गुरुङ भाषा किन नसिक्ने ? आखिर भाषा भनेको मानव सभ्यताकै उपज हो।

सरकार, स्थानीय तहले विद्यालयस्तरमा मातृभाषाबाट पठनपाठन गराउने व्यवस्था गर्नुपर्दछ।’ललितपुर महानगरपालिकाले आफ्नो जन्म शताब्दीको अवसरमा कार्यक्रम गर्दा यही कुरोमा जोड दिएको बताउँदै उहाँले यसलाई सार्थक रुप दिन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने पनि उहाँको भनाई थियो।

‘आफ्नो भाषा, संस्कृति हराउँदै गएको पीडा देशका नागरिकहरूले अनुभूति गर्नु परिरहेसम्म के ती नागरिकहरूले आत्मसम्मानका साथ राष्ट्रको समृद्धि र विकासमा प्रत्यक्ष योगदान पुर्याउन सकिएला त ?

उहाँले प्रश्न तेस्याउनुभयो। ‘भाषिक, सांस्कृतिक र जातीय विभेद अन्त्यका लागि पत्रकारिता क्षेत्रको भूमिकाले राष्ट्रिय एकता र सद्भाव वृद्धि गर्न सघाउने छ। ’वरिष्ठ संस्कृतिविद् जोशीले ‘बुढो मान्छेले पहाड हटाउन’े चिनियाँ कथा सुनाउँदै पत्रकार राष्ट्रिय दबूको संस्थागत विकास र हितका लागि दृढ संकल्पका लाग्न पनि नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्नुभयो।

सोही अवसरमा वाङमय शताब्दी पुरुष जोशीले पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित कार्यसमितिलाई खादा लगाएर कार्यकालको सफलताको कामना गर्नुभयो। समारोहमा पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित अध्यक्ष सुरजबीर बज्राचार्यको जोशीको शुभकामनालाई आशिर्वादको रुपमा लिएको बताउँदै यसले काम गर्न निकै हौसला प्रदान गरेको बताउनुभयो।

सोही अवसरमा वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले एकताबद्ध भएर लक्ष्य पुरा गर्न क्रियाशील हुुनुपर्ने बताउनुभयो।

ताम्रकार समाजद्वारा स्वागत

यसैबीच नेवाःपत्रकार राष्ट्रिय दबू ललितपुर शाखा र ताम्रकार समाजले मंगलबार एक समारोहको आयोजना गरी नवनिर्वाचित केन्द्रीय समितिलाई स्वागत तथा सम्मान गर्नुभयो।

सो अवसरमा ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले समावेशी सञ्चार र मातृभाषाको पत्रकारिताको लागि ठोस काम गर्नुपर्नेमा जोड दिनुभयो।