ढुंगेधारामा पानी झार्न कसियो ललितपुर महानगर

0
Shares

नेपाल समाचारपत्र, ललितपुर। 

ललितपुर महानगरपालिकाले पानी आउन छाडेका ढुंगेधारामा पानीआउने बनाउन त्यस सम्बन्धि योजना अघि बढाएको छ। महानगरले ढुंगेधाराको संरक्षणका लागि यस्तो योजना अघि बढाएको हो।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ढुंगेधारा संरक्षण अभियान अन्तर्गत यो योजना अघि बढाएको बताउनुभयो। उनले भन्नुभयो– ‘ सहरको ब्युटीफिकेसन अन्तर्गत मृततुल्य ढुंगेधारामा पानी झारेर सहरलाई सुन्दर बनाउन यो काम थालेका हौं।

’ललितपुर महानगर–६र १७मा रहेका ढुंगेधारामा पानी ल्याउन उपभोक्ता समिति गठन गरेर छिट्टै काम थालिने प्रमुख महर्जनले बताउनुभयो। वडा नं ६ स्थित सुन्धारा, १७ स्थित सिन्चा हिटी र मनी मण्डप हिटी रहेका छन्।

ढुंगेधारामा पानी ल्याउनका लागि तयार पारेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै प्रयागलाल जोशीले ढुंगेधाराको मुहान संरक्षण नभएकाले पानी आउन छोडेको बताउनुभयो। उहांले भन्नुभयो– ‘मुहान संरक्षण गर्ने र वर्षातको पानी संकलन गरेर ती धारामा पानी ल्याउँछौ। ’

तीन वटा धाराको मुहान नाय्ख्यमा छ।नाय्ख्य ललितपुर महानगरको १५ मा पदर्छ। जोशीले ढुंगेधाराको सतह भन्दा पानीको मुहान माथि भए पानी सजिलै आउने बताउनुभयो।

मृततुल्य भएका ढुंगेधारामा पानी ल्याउनका लागि राजकुलोलाई पुनर्जिवित गर्नुपर्र्ने उहांले बताउनुभयो। टिकाभैरवमा रहेको राजकुलो सुनाकोठी सम्म व्यवस्थित छ।

उहांले भन्नुभयो– ‘राजकुलोलाई ल्याउन सके ललितपुरका सबै ढुंगेधारामा पानी आउँछन्। ’ जोशीले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमा महानगर भित्र रहेका ११ वटा ढुंगेधारामा पानील्याउन सकिन्छ। ती ढुंगेधारामा अहिले पानीआउँदैन।

महानगरका सल्लाहकार प्रफुल्लमानसिंह प्रधानले पानी नआउने ढुंगेधाराले सहरको सौन्दर्य बिगारेको बताउनुभयो। उहांले भन्नुभयो– यो काम सुरु गर्न अब ढिला गर्नु हुदैन, पानी झर्ने बनाउन दिगो समाधान खोज्नुपर्छ, त्यो भनेको राजकुलोलाई पुनर्जिवित बनाउनु हो, त्यस तर्फ पनि काम थाल्नुपर्छ। ’

महानगरका इन्जिनियर रुद्र गौतमले महानगरको योजनाले सहरलाई सजीव र सुन्दर बनाउने दावी गर्नुभयो। उक्त योजनालाई सफल बनाउन स्थानीय बासिन्दालाई जिम्मेबार बनाउनुपर्ने उहांले बताउनुभयो।

कार्यक्रममा वडा १५ का अध्यक्ष सुदर्शन मिश्रले ढुंगेधाराको संरक्षणमा गर्न कानुन निर्माण गर्नुपर्ने बताउनुभयो। उहांका अनुसार कानुन भए त्यसकै आधारमा दण्डीत र पुरस्कृत गर्न सकिन्छ।