मोटरसाइकलमा बोकेर ३५ लाख

0
Shares

हेटौंडा, (नेस)।

अवैध हुण्डीको पैसा लिएर दुई जना मोटरसाइकलमा आउँदै गरेको विशेष सूचनाका आधारमा सोमबार दिउँसो करिब साढे १ बजे सुरक्षा प्रहरी बेसक्याम्प लँगडाचोक तथा प्रहरी विशेष ब्युरोसमेतबाट टोली खटियो।

संयुक्त प्रहरी टोली खटेर बाराको पचरौता नगरपालिका–८, लँगडाचोकस्थित सडकमा पुग्दा प्राप्त सूचनाअनुसार दुई जना पूर्व सिम्रौनगढ, महेन्द्र आदर्शतर्फबाट आएको ना२६प १६४९ नम्बरको मोटरसाइकलमा प्रहरीलाई शंका लागी रोकेर मोटरसाइकल तथा मोटरसाइकल चालक र पछाडि बसेका व्यक्तिको शरीर तथा साथमा रहेको ब्याग चेक गरियो।

सोहीक्रममा मोटरसाइकल पछाडि बसेकाले पिठ्युँमा बोकेको झोलाभित्र नेपाली रुपियाँ एक हजार दरका १ हजार २ सय थान र पाँच सय दरका ४ हजार ७ सय थानसमेत गरी ३५ लाख ५० हजार रुपियाँ फेला परेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो।

उनीहरुलाई तत्काल नियन्त्रणमा लिएर सोधपुछ गर्दा मोटरसाइकल चालक बाराको सिम्रौनगढ नगरपालिका–७ को भवानीटोल बस्ने वर्ष २३ का सुनिल महतो नुनिया र पछाडि बस्ने वर्ष २२ का राजनकुमार दुबे रहेको खुल्यो।

उनीहरुले आफूसाथ बोकेको रकमबारे स्रोत खुलाउन नसकेको र दुबेको साथमा रहेको मोबाइलभित्रको ह्वाट्सअपमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित चेक तथा भौचरको फोटो तथा कारोबारको भ्वाइसरेकर्ड तथा करोडौं रुपियाँ कारोबार गरेका विवरण फेला परेको प्रउ खनालले बताउनुभयो।

उनीहरुलाई पक्राउ गरी बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरअन्तर्गत बारा जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न ५ दिन म्याद थप भएर अनुसन्धान तथा कारबाही भइरहेको छ।