नेकपाविरुद्ध निर्वाचन आयोगमा उजुरी

0
Shares

नेपाल समाचारपत्र, पोखरा।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कास्कीमा नेकपाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–१५, पट्नेरी बस्तीका स्थानीयलाई कम्बल वितरण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको कास्की कांग्रेसले जनाएको छ।

उक्त वडाका वडाध्यक्ष प्रकाश पौडेलले पट्नेरीका १२ जनालाई कम्बल वितरण गर्नुभएको थियो। वडाध्यक्ष पौडेलको यो कार्य निर्वाचन आचारसंहिता २०७२ को दफा ३ को उपदफा १ (ख) विरुद्ध भएको कास्की कांग्रेसले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

पार्टी सभापति कृष्ण केसीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘निर्वाचनको मुखमा निर्वाचन क्षेत्रका मतदातालाई प्रलोभनमा पारी प्रभावित पार्ने मनसायले गरिएको यस प्रकारको कार्यको घोर निन्दा र भत्र्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई सचेत गराउँदछौं।’

‘हतास मनस्थितिबाट गरिएको यस प्रकारको निन्दनीय कार्यशैलीलाई निर्वाचन कार्यालयले अनुगमन गरी आचारसंहिता विपरीत कार्य गर्नेमाथि कारबाही गर्न जोडदार माग गर्दछौं।’ –विज्ञप्तिमा भनिएको छ।

निर्वाचन आचारसंहिता विपरीत वडा कार्यालयले कम्बल वितरण गरेको भन्दै कास्की कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको हो।

पार्टी सभापति कृष्ण केसीका अनुसार निर्वाचन क्षेत्रभित्र मतदातालाई प्रलोभनमा पार्ने काम वडा कार्यालयबाटै भएको भन्दै वडाध्यक्षलगायत त्यस कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिइएको हो।

पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेल तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट निर्वाचित हुनुभएको हो।