पर्सा राष्ट्रिय निकुञ्जमा सडक विस्तारको तयारी

0
Shares

बारा, (नेस)।

पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु ओहोरदोहोर गर्ने ‘अन्डर पास’ निर्माण गर्ने टुंँगो नलाग्दै सडक विभागले त्रिभुवन राजपथ र पूर्वपश्चिम लोकमार्ग चार लेनविस्तार प्रक्रिया अघि बढाएको छ।

सडक विभागले त्रिभुवन राजपथको पथलैया–अमलेखगन्ज, निजगढ खण्डमा अन्डर पासबिना नै सडक विस्तार थालेको हो।

सडक विभागले निकुञ्जले गर्दै आएको एनिमल अन्डर पासको माग बेवास्ता गर्दैै सडक विस्तारको योजना अघि बढाएको हो।

सडक विभागले पूर्व–पश्चिम लोकमार्गसँगै त्रिभुवन राजपथको पथलैयादेखि हेटौंडासम्मको सडक खण्डलाई पनि हाल चार लेनमा विस्तार प्रक्रिया अघि बढाएको छ।

वन्यजन्तुको सुरक्षाका लागि भन्दै निकुञ्जले राजपथअन्तर्गत पर्ने बाराको पथलैयादेखि उत्तरतर्फ अमलेखगन्जसम्म ९ किमि र पूर्वपश्चिम राजमार्गको पथलैयादेखि पूर्व निजगढ खण्डमा ‘एनिमल अन्डर पास’ निर्माणको माग गर्दै आएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले वन्यजन्तु संरक्षणका लागि निकुञ्जअन्तर्गत पर्ने पथलैयादेखि अमलेखगन्जसम्मको ९ किमि वन क्षेत्रको सडक र पथलैया पूर्व निजगढतर्फको १५ किमि सडक क्षेत्रमासमेत वन्यजन्तुको सहज आवागमनका लागि अन्डर पास आवश्यक रहेको बताउनुभयो।

निकुञ्जअन्तर्गत पर्ने यस क्षेत्रको राजमार्गबाट हात्ती, बाघ, चित्तललगायतका वन्यजन्तु आवागमन गर्ने तर अन्डर पासको व्यवस्था नहुँदा सवारी दुर्घटनामा परी वन्यजन्तु मर्ने क्रम बढेको संरक्षण अधिकृत महर्जनले बताउनुभयो।

उहाँले वन्यजन्तुको निर्बाध आवागमनका लागि यस क्षेत्रमा कम्तीमा २ वटा एनिमल पास अविलम्ब निर्माण आवश्यक रहेको महर्जनले बताउनुभयो।