वडाध्यक्षले दिए राजीनामा

0
Shares

सल्यान, (नेस)।

सल्यानका एक निर्वाचित वडाध्यक्षले जिम्मेवारीबाट राजीनामा दिएर शिक्षकको जागिर रोज्नुभएको छ।
जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बीएमले आफ्नो पदबाट राजीनामा दिएर शिक्षक हुनुभएको हो।

२०७४ सालमा सम्पन्न स्थानीयतहको चुनावमा वडाध्यक्षमा निर्वाचित बीएम प्राथामिक तहको शिक्षक बन्नुभएको हो। बीएम नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो।

गोलाप्रथाद्वारा विजयी बन्नुभएका उहाँले प्राथामिक तहको खुलाकोटामा मुस्ताङबाट नाम निकाल्नुभएको हो। तत्कालीन नेकपा एमालेका उम्मेदवार देवेन्द्र रोका र बीएमले समान ३ सय २१ मत प्राप्त गर्नुभएको थियो।

पछि दुवै जनाको सहमतिमा गोलाप्रथा गर्दा बीएम विजयी हुनुभएको थियो।‘वडाध्यक्षमा न त अधिकार देखियो न सुविधा नै।

जनताका लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेसा रोजेको हुँ’, राजनीतिक पद छोडेर शिक्षक बन्नुभएका बीएमले भन्नुभयो– ‘बरु विद्यालयका विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँछु।

शैक्षिक गुणस्तर सुधारका लागि म सेवा गर्न चाहन्छु।’ अब राजनीतिमा नफर्कने र शिक्षक भएरै समाजसेवा गर्ने उहाँको भनाइ छ।