कांग्रेसको नजरमा सरकारका २१ असफलता

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको २१ वटा असफलता आंैल्याएको छ।कम्युनिस्ट नेतृत्वको सरकार सञ्चालन भएको २१ महिनामा भएको यो असफलतालाई कांग्रेसले प्रतिनिधि घटनाका रूपमा लिँदै उपनिर्वाचनको चुनावी मैदानमा लैजाने भएको छ।

बूढीगण्डकीमा राष्ट्रघात, वाइडबढीमा क्रान्तिकारी छलाङ, कूटनीतिक मामिलामा अपरिपक्व, संघीयतामाथि बेइमानी

सरकारले एकपछि अर्को असफलता बढाउँदै लगेको भन्दै कांग्रेसले पछिल्लोपटक सीमा विवादका सन्दर्भमा राष्ट्रिय एकता कायम हुँदा पनि कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहलमार्फत परिणाममुखी राष्ट्रवाद प्रस्तुत गर्न नसकेको आरोप लगाएको छ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले संविधानप्रति अपनत्वको दायरा विस्तार गर्न सरकार असफल भएको बताउनुभएको थियो।

‘वर्तमान संविधान जारी गर्दा हामीले क्रमशः यसलाई संशोधन गर्दै अपनत्वको दायरा विस्तार गर्दै अघि बढ्ने सहमति र संकल्प गरेका थियौं’, कांग्रेसले भनेको छ– ‘वर्तमान सरकार तराई–मधेसलगायतको भूभागमा रहेको असन्तुष्टि हल र संविधानप्रति अपनत्वको दायरा विस्तार गर्न असफल भयो।

कांग्रेसले सत्ताको सैद्धान्तिक चरित्र निक्र्योलमै असफलता भएको भन्दै तत्कालीन एमाले र माओवादीको गठबन्धनको सरकार पार्टी एक बनिसके पनि प्रस्ट सैद्धान्तिक चित्र र चरित्र प्रस्तुत गर्न २१ महिनासम्म नसकेको आरोप लगाएको छ।

यस अवधिमा सरकार लोकतान्त्रिक संविधानको निष्ठाभन्दा कम्युनिस्ट दर्शनको शास्त्रीय भड्काउले भूमिका राख्नु सरकारको असफलताको प्रारम्भिक र भविष्यमा अन्तिम कारक बन्ने कांग्रेसको ठम्याइ छ।

तीनै तहको निर्वाचन भई सरकार गठन भएको २१ महिना पुगिसक्दा पनि सबै प्रदेशको नामकरण र राजधानी निर्धारण हुन नसक्नु तथा संघीयताको मर्मबमोजिम मुलुकलाई अघि नबढाउनुले सरकार संघीयताप्रति इमानदार नभएको कांग्रेसको भनाइ छ।

कांग्रेस प्रवक्ता शर्मा भन्नुहुन्छ– ‘केन्द्रीकृत शासन प्रणालीमा विश्वास गर्ने कम्युनिस्ट दर्शन बोकेको सरकार संघीयताप्रति इमानदार छैन।’ सरकार कूटनीतिक मामिलामा अपरिपक्व भएको भन्दै कांग्रेसले भेनेजुयला प्रकरण र सि विचारधाराको प्रशिक्षणसम्मको विषयमा सरकारले देशलाई गुमराहमा राखेको आरोप लगाएको छ।

विप्लव माओवादी प्रकरणमा सरकार असफल भएको बताउँदै कांग्रेसले भनेको छ– ‘सरकारले निषेधको मार्ग अख्तियार गर्दा त्यसले समाधानलाई भन्दा द्वन्द्वको मनोविज्ञान विस्तारलाई मद्दत पुगेको छ।

निर्मला पन्त बलात्कार र हत्यालगायत अन्य हत्या, हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता घटना बढोत्तरी हुनुले शान्ति सुरक्षामा सरकार असफल भएको कांग्रेसको बुझाइ छ।

बाइडबडीलगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ मारेको सरकारले बूढीगण्डकी आयोजनामा राष्ट्रघात गरेको प्रतिपक्ष दलको आरोप छ।

नेपाली आफैले निर्माण गर्ने भनेर डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपियाँको दरले उठाएको रकम अर्बौं पुगिसकेपछि बूढीगण्डकी परियोजना एकाएक विदेशी कम्पनीलाई सुम्पिनुले यसमा राष्ट्रघात भएको प्रस्ट हुने कांग्रेसको दाबी छ।

मेलम्ची परियोजनामाथि खेलवाड गरेको सरकारले निजगढ एयरपोर्टको भविष्यसमेत अन्योल बनाएको भन्द्रै कांग्रेस प्रवक्ता शर्मा भन्नुहुन्छ– ‘एयरपोर्ट सिटीका लागि समेत रूख काट्ने प्रस्ताव आउनु, विवादपछि उचित निष्कर्षमा पुग्न ढिलाइ हुनु, लगानीका सन्दर्भमा गहिरो राष्ट्रिय विमर्श नहुनुका कारण निजगढ एयरपोर्टको भविष्य अन्योलमा पर्दै गएको छ।’

सरकार जिम्मेवार नबन्दा चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा समेत प्रश्नचि≈न उब्जिएकाले सरकारको नियतले संवैधानिक परिषद्समेत असफल हुन लागेको कांग्रेसको भनाइ छ।

लोकतान्त्रिक मुलुकहरूमा सत्ता र प्रतिपक्षबीच महत्वपूर्ण निर्णयका विषयमा सामूहिक दायित्वबोध र सहकार्यको उद्देश्य साथ संवैधानिक परिषद्को परिकल्पना गरिएको हुने भए पनि वर्तमान सरकारको २१ महिनामा संवैधानिक परिषद् संविधानले दिएको गरिमामय भूमिकामा नरहेको कांग्रेसको दाबी छ।

शब्दमा प्रेस स्वतन्त्रता व्यवहारमा नियन्त्रण सरकारको चरित्र रहेको भन्दै कांग्रेसले होलीवाइन प्रकरणले वर्तमान सरकार निश्चित धर्म प्रचारमा लागेको आभाष भएको भन्दै सामान्य छलफलसमेत नगरी ल्याइएको गुठी विधेयकको सवालमा भएको आन्दोलनले सरकारले घुँडा टेक्नु उसको अर्काे असफलता भएको कांग्रेसको विश्लेषण छ।

बालुवाटार काण्डलाई समेत जोडेर वर्तमान सरकारको खिसिट्युरी गरिरहेको कांग्रेसले जिम्मेवार प्रतिपक्ष हुँदा सत्तापक्ष विरोधको स्वरलाई सुन्नै नचाहने शक्तिका रूपमा चित्रण गरेको छ। शेयर बजार ओरालो लागेको भन्दै कांग्रेसले स्थिर सरकार हँुदा शेयर बजार उकालो लाग्नुपर्ने बताएको छ।