भारतीय सीमा सुरक्षा बलका महानिर्देशक पोखरामा

0
Shares

काठमाडौं, (नेस)।

नेपाल भारतबीच सीमा विवाद भइरहेका बेला आज बुधबारदेखि पोखरामा दुई देशबीच सीमा सुरक्षा बैठक शुरू हुँदै छ।

उक्त बैठकमा सहभागी हुन भारतीय सीमा सुरक्षा बलका महानिर्देशक कुमार राजेश चन्द्र मंगलबार नेपाल आउनुभएको छ। हरेक वर्ष नियमितरूपमा हुँदै आएको उक्त बैठक यसपटक नेपालमा हुन लागेको हो।

एक/एक वर्षमा हुने उक्त बैठक अघिल्लो वर्ष भारतको राजधानी नयाँ दिल्लीमा भएको थियो। भारतीय सीमा सुरक्षा बलका महानिर्देशक चन्द्रसहितको टोली मंगलबार नै बैठकस्थल पोखरा प्रस्थान गरेको छ।

नेपालका तर्फबाट सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेतृत्व गर्नुहुने भएको छ। बैठकमा सहभागी हुन सशस्त्र प्रहरी बलका महानिरीक्षक खनाल पनि पोखरा पुगिसक्नुभएको छ।

तीन दिनसम्म चल्ने बैठकमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अन्तरदेशीय अपराध रोकधामका विषयमा छलफल हुने बताइएको छ।

सशस्त्र प्रहरी बल नेपाल भारत तथा नेपाल चीनबीचको सीमा सुरक्षामा तैनाथ भएको छ।सीमाक्षेत्रमा देखिने समस्या समाधान गर्न भारतीय सीमा सुरक्षा बल र सशस्त्र प्रहरी बलबीच गणस्तरमा हरेक महिना र बाहिनीस्तरमा हरेक तीन–तीन महिनामा तथा केन्द्रीयस्तरमा रहेक वर्ष उक्त बैठक हुने गरेको छ।