बसाइसराइ र वैदेशिक रोजगारीको असर खेतबारीमा

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत।

मंसिरको पहिलो साता ठूला फाँटहरूमा पहेंलपुर धान पाकेको छ। माथिल्लो पहाडी क्षेत्रमा कात्तिकको मध्यतिरै धान काटेर दाइँसमेत राखियो तर तल्लो क्षेत्रका फाँटमा धान काट्न भ्याई नभ्याई छ। खेतमा धान पाके पनि काट्नका लागि खेतालाको अभाव खड्किएको छ।

‘धान लगाउने र थन्क्याउने बेलामा धेरै खेताला चाहिन्छ तर काम गर्ने मान्छे नै पाइँदैन’, उहाँले भन्नुभयो– ‘खेतमै पाकेको धान झरे पनि काट्ने उठाउँदा समस्या छ।’

पछिल्लो समय युवाहरू वैदेशिक रोजगारी जाने र शहरतिर बसाइसराइ गरेपछि पहाडका उब्जाउ फाँटमा धान काट्ने खेतलाको अभाव भएको हो।
खेताला पाउन कठिन भएपछि पर्वत जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाका हरिप्रसाद शर्मालाई जब धान लगाउने असार महिना अनि धान थन्क्याउने कात्तिक र मंसिर महिना लाग्छ तब लगाउँदै आएको खेती पनि छाडौं कि जस्तै हुन्छ।

‘धान लगाउने र थन्क्याउने बेलामा धेरै खेताला चाहिन्छ तर काम गर्ने मान्छे नै पाइँदैन’, उहाँले भन्नुभयो– ‘खेतमै पाकेको धान झरे पनि काट्ने उठाउँदा समस्या छ।’

कामदार हप्ता दिनभन्दा अगाडिबाट नै काम गर्नका लागि अरूको खेतबारीमा नै बोलकबोल गरेर खेताला लाग्न जान्छन्। काम गर्ने जोस र जाँगर भएका बलिया अधिकांश युवा वैदेशिक रोजगारीमा छन् भने जागिर तथा व्यापार गर्दै आएकाहरू आफ्नै पेसा व्यवसायमा व्यस्त छन्।

ज्येष्ठ नागरिक र बालबालिका मात्र बाँकी रहेको धेरै गाउँमा काम गर्ने समय आउँदा यस्तै समस्या हुने गरेको छ। जिल्लामा धानको उत्पादनका पकेट क्षेत्रहरू पकुवा, कटुवाचौपारी, फलेवास, शंकरपोखरी, पैयुँ, खुर्कोट, जलजला, पातिचौर, बाच्छा बिहादी, पाङराङ, मल्लाजलगायतका ठाउँका कृषक मजदुरको अभावकै कारण खेती थन्क्याउन नसकिने समस्यामा परेका छन्।

कुटवाचौपारीका कृषक मोहदत्त शर्माले असारमा ट्याक्टरले जोतेर धान रोपेको भए पनि हिउँदमा कामदार नपाएकै कारण कुन्युँमा नै धान कुहिने हो कि भन्ने चिन्ता परेको गुनासो गर्नुभयो।

‘धान काट्ने खेताला खोज्न गाउँ चाल्दा पनि कोही पाइएन’, उहाँले भन्नुभयो– ‘गाउँमा केटाकेटी र बूढाबूढीबाहेक कोही छैनन्। काम गर्ने मान्छे नपाउँदा अब खेती लगाउन नसकिने अवस्था आयो।’

रोपाइँ गर्न तथा धान बोक्न र झाँट्न गाउँघरमा एक जना पुरुष खेतालाको दैनिक ज्याला ५ सयदेखि ८ सय रुपियाँसम्म चल्ने गरेको छ। कतिपयले त काम गर्नेहरूलाई बढी चलेको भन्दा बढी ज्याला दिएर भए पनि बोलाउन खोज्दा समेत कामदार नपाएको बताउँछन्।

गाउँघरमा काम गर्ने मान्छे नै नपाउँदा विद्यालयमा बिरामी बिदा लिएर धान र कोदो थन्क्याउन गाउँमा बस्नुपरेको शिक्षक राजु क्षेत्री बताउनुहुन्छ। ‘पेट पाल्ने खेती हो, रोपाइँ गर्ने बेलामा त बर्खे बिदा थियो, रोपियो अहिले हिउँदमा धानको काम गर्ने मान्छे नै पाइएन’, उहाँको भनाइ छ– ‘विद्यालयमा बिरामी बिदा हालेर ३ दिनका लागि घरमा पुगेर काम सकें।’

अध्ययन, जागिर वा व्यवसायका लागि बजारमा बस्दै आएकालाई आफ्नो कामबाट बिदा र फुर्सद नपाउँदा गाउँमा काम गर्न जान पाउँदैनन्।