पुस्तकमा ६० प्रतिशतसम्म छुट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

सहुलियत रूपमा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले एक महिने पुस्तक प्रदर्शनी शुरु गरेको छ।
प्रतिष्ठानको वार्षिक कार्यक्रम अन्तर्गत यही मंसिर १ गतेदेखि प्रदर्शनी शुरु गरिएको संयोजक सुधीर ढुंगेलले राससलाई जानकारी दिनुभयो।

प्रदर्शनीमा दुईदेखि एक हजार ४०० सम्मका पुस्तक राखिएका छन्। प्रतिष्ठानले प्रकाशनगरेका ५०० प्रकारका पुस्तक र १०० प्रकारका पत्रिका सहुलियत मूल्यमा खरीद गर्न सकिने उहाँले सुनाउनुभयो।

प्रदर्शनीमा रु दुईको ‘काव्य अर्चना’ र रु एक हजार ४०० को ‘प्रज्ञा–नेपाली–अंग्रेजी शब्दकोश’ छन्। यसैगरी पछिल्लो समय बजारमा आएका डा.बद्रि पोखरेलको ‘अर्थशास्त्रका शब्दावली’, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को ‘कर्मदर्शन’, जगतप्रसाद उपाध्याय र विष्णुप्रभातले सम्पादन गर्नुभएको ‘दर्शनावली–६’, हेमनाथ पौडेल, सुरेन उप्रेती, शशी लुमुम्बु लगायतले सम्पादन गर्नुभएको ‘अन्तरदेशीय नेपाली कथाहरू’ पनि प्रदर्शनीमा छन्।

प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्मको सहुलियत दिएर पुस्तक बिक्री भइरहेको छ। यही मंसिर मसान्तसम्म आयोजना गरिएको प्रदर्शनीप्रति पाठकको रुचिबढेमा पृथ्वीजयन्तीसम्म अर्थात् आगामी पुस २७ गतेसम्म विस्तार गर्न सकिने संयोजक ढुंगेलले बताउनुभयो। प्र

दर्शनीमा प्रकाशन मितिदेखि विसं २०५५ सम्मका प्रतिष्ठानले प्रकाशन गरेका समकालीन साहित्य, प्रज्ञा, सयपत्री, कवितालगायतका पत्रिका पाँच रुपियाँमै उपलब्ध गराइने जनाइएको छ।

प्रदर्शनीको उद्घाटन गर्नुहुँदै कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक देशविदेशमा जानुपर्छ भनी सहुलियत रूपमा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। प्रदर्शनीले पुस्तकको गरिमालाई व्यापकता दिने उहाँको भनाई थियो।