सीमा बचाउन सांस्कृतिक अभियान



हालै छिमेकी देश भारतको सर्वे विभागको हवला दिँदै भारत सरकारद्वारा प्रकाशित भारतको राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्र समावेश गरिएकोप्रति सांस्कृतिक संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सीमा बचाऔं संयुक्त अभियानको घोषणा गरेका छन्।

‘नेपाल र भारतबीचको सीमासम्बन्धी नक्सा नेपाल सरकारको सहमतिबिना भारत सरकारद्वारा एकपक्षीय रूपमा प्रकाशित गरिएकाले सो नक्सा खारेज गर्दै भारत सरकारको यस खाले हेपाहा प्रवृत्तिको हामी घोर भत्र्सना गर्दछौं। नेपाल र भारतबीचको भौगोलिक सीमा विवाद यसबाहेक पनि ६० स्थानभन्दा बढी क्षेत्रमा कायमै छ।

ती सबै क्षेत्रमा नेपालको भूमि नै भारतद्वारा मिचिएको स्पष्ट देखिन्छ’ नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापा, जनसांस्कृतिक महासंघ नेपालका संयोजक खगेन्द्र राई, रक्तिम सांस्कृतिक अभियानका संयोजक हेमराज आश्रम र समाजवादी सांस्कृतिक महासंघका अध्यक्ष घनराज सुब्बाद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ ‘यद्यपि, नेपाल र भारतीय जनताबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्ध सयौं वर्षदेखि सुमधुर र सद्भावयुक्त छ।

यसखाले सद्भावपूर्ण सम्बन्धमा समेत भारतको मिचाहा प्रवृत्तिले खलल पुर्याइरहेको छ। हामी चाहन्छौं नेपाल र भारतका जनताबीचको सुमधुर सम्बन्ध मात्रै होइन नेपाल सरकार र भारत सरकारबीचको सम्बन्धसमेत सुमधुर रही रहनुपर्छ।

तर यसका लागि हामी हाम्रो देशको भूगोललाई बन्धक राख्न वा बेच्न सक्दैनौं।’विज्ञप्तिमा अगाडि भनिएको छ ‘आप्mनो राष्ट्रिय स्वाधीनता र अखण्डताका लागि जस्तोसुकै बलिदान गर्न तयार वीरहरूको देश नेपाल हो। र हामी तिनै वीरहरूका सन्तान हौं।

यसर्थ नेपाल राष्ट्रको भौगोलिक अखण्डता र नेपाली जनताको सार्वभौम अधिकार रक्षाका लागि हामी सांस्कृतिक कर्मीहरू देश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली तथा भारतीय जनतालाई समेत हाम्रो राष्ट्रियताको अभियानमा ऐक्यबद्धता जनाउनका निम्ति अनुरोध गर्दै राष्ट्रिय एकताका साथ नेपालको सम्पूर्ण भूगोल स्वतन्त्र नभएसम्म संयुक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

यस प्रतिबद्धतामा साथ दिँदै निरन्तर अभियानका लागि सम्पूर्ण देशभक्त संस्कृतिकर्मी तथा कलाकारहरूलाई हार्दिक आह्वान गर्दछौं।’

प्रतिक्रिया दिनुहोस्