नेपाल प्रज्ञा प्रतिष्ठानकाे पुस्तक प्रदर्शनी शुरु, ६० प्रतिशतसम्म छुट   


न्युज अफ नेपाल, काठमाडौँ ।

सहुलियत रुपमा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले एक महिने पुस्तक प्रदर्शनी शुरु गरेको छ ।

प्रतिष्ठानको वार्षिक कार्यक्रम अन्तर्गत यही मङ्सिर १ गतेदेखि प्रदर्शनी शुरु गरिएको संयोजक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । प्रदर्शनीमा रु दुईदेखि रु एक हजार ४०० सम्मका पुस्तक राखिएका छन् । प्रतिष्ठानले प्रकाशन गरेका ५०० प्रकारका पुस्तक र १०० प्रकारका पत्रिका सहुलियत मूल्यमा खरीद गर्न सकिने उहाँले सुनाउनुभयो ।

प्रदर्शनीमा रु दुईको ‘काव्य अर्चना’ र रु एक हजार ४०० को ‘प्रज्ञा–नेपाली–अङ्ग्रेजी शब्दकोश’ छन् । यसैगरी पछिल्लो समय बजारमा आएका डा बद्रि पोखरेलको ‘अर्थशास्त्रका शब्दावली’, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को ‘कर्मदर्शन’, जगतप्रसाद उपाध्याय र विष्णुप्रभातले सम्पादन गर्नुभएको ‘दर्शनावली–६’, हेमनाथ पौडेल, सुरेन उप्रेती, शशी लुमुम्बु लगायतले सम्पादन गर्नुभएको ‘अन्तरदेशीय नेपाली कथाहरु’ पनि प्रदर्शनीमा छन् ।

प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्मको सहुलियत दिएर पुस्तक बिक्री भइरहेको छ । यही मङ्सिर मसान्तसम्म आयोजना गरिएको प्रदर्शनीप्रति पाठकको रुचि बढेमा पृथ्वीजयन्तीसम्म अर्थात् आगामी पुस २७ गतेसम्म विस्तार गर्न सकिने संयोजक ढुङ्गेलले बताउनुभयो । प्रदर्शनीमा प्रकाशन मितिदेखि विसं २०५५ सम्मका प्रतिष्ठानले प्रकाशन गरेका समकालीन साहित्य, प्रज्ञा, सयपत्री, कवितालगायतका पत्रिका रु पाँचमै उपलब्ध गराइने जनाइएको छ ।

प्रदर्शनीको उद्घाटन गर्नुहुँदै कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक देशविदेशमा जानुपर्छ भनी सहुलियत रुपमा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । प्रदर्शनीले पुस्तकको गरिमालाई व्यापकता दिने उहाँको भनाइ थियो ।