उपप्रधानमन्त्री यादव र प्रधानमन्त्री ओलीबीच बोलचाल बन्द


न्युज अफ नेपाल, काठमाडौँ ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव सोमबार दिउँसो भारतको राजधानी नयाँ दिल्लीतर्फ लागेका छन्।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादव स्वास्थ्यसम्बन्धी एक कार्यक्रममा भाग लिन दिल्लीतर्फ लागेका हुन्।

स्वास्थ्य मन्त्रालय अन्तर्गत औषधि व्यवस्थापनसम्बन्धी तीन दिने कार्यक्रमा भाग लिन भारततर्फ लागेका उनी आगामी शुक्रबारसम्म भारतमै रहने छन्। पाँच दिनसम्म दिल्लीमा रहँदा उनले त्यहाँ राजनीतिक भेटघाट पनि गर्ने स्रोतको बताएको छ।

नेपालमा मन्त्रीहरु फेरिने चर्चा चलिरहेका बेला यादव दिल्ली लागेपछि राजनीतिक भेटघाटको आँकलन गरिएको हो।

संविधान संशोधनको विषयलाई लिएर यादव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बोलचाल बन्द रहेको अवस्था छ।

ओलीले मन्त्री पदमै बसेर सरकारको आलोचना बन्द गर्न नत्र बाहिरिन भन्दै यसअघि नै यादवलाई कडा सन्देश दिएका थिए।

प्रधानमन्त्रीसँग सम्बन्ध चिसिए पनि तत्काल सरकार नछाड्ने यादवको अडान छ ।

भारतले मिचेको नेपाली भूमिबारे देशभर विरोधको स्वर चर्किरहेका बेला यादव दिल्लीतर्फ लाग्नुलाई केहीले अर्थपूर्ण भनेका छन्।

तर उनको सचिवालय भने यादव विशुद्ध स्वास्थ्यसम्बन्धी कार्यक्रममा गएको दाबी गरेको छ।

सीमा समस्या समाधानका लागिसमेत संविधान संशोधन आवश्यक रहेको तर्क गरिरहेको सत्ता साझेदार दलका प्रमुख नेता यादवको भारत भ्रमणलाई समाजवादी पार्टी र बाहिर पनि अर्थपूर्ण रुपमा हेरिएको छ।

यस अघि पनि अन्य मुलुकमा हुने स्वास्थ्यसम्बन्धी कार्यक्रमा यादव छानेर जाने गरेका थिए। तर भारतमा हुने स्वास्थ्यसम्बन्धी सानातिना कार्यक्रममा सहभागी हुन उनी आफैँ जाने गर्दछन्। ओली मन्त्रिपरिषद्मा सबैभन्दा धेरै विदेश भ्रमण गर्ने मन्त्रीमध्ये यादव एक हुन्।