मन्त्री हटाइने हल्लाले काम गर्न गाह्रो भएको मन्त्रीहरूकाे गुनासाे


न्युज अफ नेपाल, काठमाडौं ।

आइतबार बसेको पार्टी सचिवालय बैठकमा मन्त्री हटाइने पक्कापक्की जस्तै भएको छ । मन्त्री हटाइने हल्ला सत्यको नजिक पुग्न थालेपछि काम नै गर्न गाह्रो भएको गुनासा मन्त्रीहरूले गर्न थालिसकेका छन् ।

“मन्त्रिपरिषद् हेरफेरको हल्लाले मन्त्री हट्ने मनोविज्ञानका साथ काम गरिरहेका छन् । कतिबेला हट्नुपर्ने हो भनेर त्रासमा काम गर्दा स्वाभाविक हिसाबले त्यसको असर सेवा–प्रवाहमा पर्ने एक मन्त्रीले बताए ।

उनले मन्त्री हेरफेर, परिवर्तन, पुनःगठन, जिम्मेवारी स्थानान्तरण प्रधानमन्त्री ओलीको विषय भएकाले हल्ला नगरी परिवर्तन गर्नुपर्ने बताए ।

मन्त्री नियुक्ति, पदमुक्त गर्ने अधिकार प्रधानमन्त्रीकै हो । उहाँले अरूसँग राय लिन त पाउनुहुन्छ तर मान्न बाध्यकारी नभएकाले हल्ला नगरी जे योजना छ, फटाफट गरिहाल्नु पर्छ । हल्ला गर्दा मन्त्रीहरूको कार्यसम्पादनमा त्यसको असर पर्छ उनले भने ।

प्रधानमन्त्री स्वयम् सरकारको कामकारवाहीलाई अस्थिर बनाउन र मन्त्रीहरूलाई निर्वाध काम गर्न नदिएको आरोप उनकै मन्त्रिपरिषद्का सदस्यले लगाउन थालेका छन् ।

बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मन्त्री हेरफेरबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिइन् । उनले हेरफेरको हल्लाले मन्त्रीहरू मनोवैज्ञानिक त्रास र अस्थायीको मनोविज्ञानमा काम गरेको स्वीकारे पनि आफूलाई कुनै पनि फरक नपरेको बताइन् ।

“मन्त्रीभन्दा पनि पार्टीले दिएको जिम्मेवारी प्रमुख कुरा हो । पार्टीले निर्णय गरेर हट् भने मलाई कुनै अप्ठ्यारो छैन । मन्त्री हटाउने हल्लाले मलाई केही फरक पारेको छैन । कर्मचारी, सचिवबाट पनि कुनै असहयोगको अनुभूति गरेको छैन,” उनले भनिन् ।