काठ तस्कर र वन गस्तीबीच गोली हानाहान, तस्कर फरार


कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सामा काठ तस्कर र वन गस्ती टोलीबीच गोली हानाहान भएको छ । तर, काठ तस्करमा संलग्न भनिएकाहरु भने उम्कन सफल भएका छन् ।

सवडिभिजन वन कार्यालय अन्तर्गतको राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गरेको तस्कर समूह र वन गस्ती टोलीबीच गोली हानाहान भएको हो ।

गोप्य सूचनाको आधारमा सवडिभिजन वन कार्यालय बढनिहारबाट सुवेदार प्रदीप तिमल्सिना नेतृत्वको गस्ती र साइकलमा काँचो सालको गोलिया ल्याउँदै गरेका तस्कर समूहबीच जम्काभेट भएको थियो ।

तस्कर समूहले वन गस्ती टोलीलाई लक्षित गरी एक राउण्ड फायर गरेपछि जवाफमा वन गस्ती टोलीले दुई राउण्ड फायर गरेको डिभिजन वन कार्यालय पर्साका प्रमुख राजेश्वरमान श्रेष्ठले जानकारी दिनुभयो ।

घटनास्थलबाट वन गस्ती टोलीले चार वटा सालको गोलिया काठ, काठ ओसार्न प्रयोग गरिएको साइकल ४ थान, दुईवटा हाते आरा र दुई वटा बञ्चरो बरामद गरेको वन गस्ती टोलीले जनाएको छ ।

बरामद काठ र साइकल आवश्यक कारबाहीका लागि शव डिभिजन वन कार्यालय बढनिहारमा राखिएको छ ।

यसअघि तिमल्सिना नेतृत्वको टोलीले नै पर्साको सखुवा प्रसौनी गाउँपालिका ३ मा सञ्चालित सुदामा समिलबाट ४५ क्युफिट सालको काँचो काठ बरामद गरेको थियो ।

पर्साको ग्रामीण भेगमा प्रायः महिनाको एक पटक वन गस्ती टोली र काठ तस्करकाबीचमा गोली हानाहान हुने गरेको भन्ने खबरहरु आएपनि हालसम्म काठ तस्कर पक्राउ परेको उदाहरण छैन ।

काम गरेको प्रमाण देखाउनका लागि मात्रै गोली हानाहान भन्ने गरिएको तर अघिपछि काठ तस्कर र वन गस्तीकाबीचमा सम्बन्ध राम्रो रहेको श्रोतले बताएको छ ।