उत्पादन बढाउन समूहमा आलु लगाउँदै कृषक

0
Shares

बेझाड।

आलु खेतीबाट मनग्य आम्दानी हुन थालेपछि पाल्पा रामपुरका कृषक सामूहिक आलु खेतीमा आकर्षित हुन थालेका छन् । घरायसी प्रयोजनका लागि मात्र आलु लगाउँदै आएका यहाँका कृषक समूहमा मिलेर आलु लगाउन शुरु गरेका हुन् । रामपुर नगरपालिका–६ मा रहेका कृषि समूहका सदस्यहरु यतिबेला आलु लगाउने कार्यमा व्यस्त छन् ।

तालपोखरा कृषक समूहले यस वर्ष १० रोपनी क्षेत्रफलमा समूहमा आलु लगाएको छ । गत वर्ष परीक्षणका लागि तीन रोेपनी क्षेत्रफलमा लगाएको आलुको उत्पादन राम्रो भएपछि यो वर्ष क्षेत्रफल बढाएर आलु लगाउन शुरु गरेको अध्यक्ष मित्रा ढकाल बताउनुहुन्छ ।

“गत वर्ष एक क्विन्टल आलु लगाएको दश क्विन्टल फल्यो, नसोचेको उत्पादन भएपछि यो वर्ष धेरै लगाइएको छ”, उहाँले भन्नुभयो ।

कँडेलबारी कृषक समूहले जग्गा भाडामा लिएर पाँच रोपनी क्षेत्रफलमा तीन क्विन्टल आलु लगाएको समूहका अध्यक्ष सीता भण्डारीले बताउनुभयो । “आलु लगाउने प्रविधिबारे कृषि प्राविधिक खेतमै आएर सिकाउनु हुन्छ, बीउ वडा कार्यालयले उपलब्ध गराएको छ, पूरै लगानी गर्न पनि परेन, मल खरिद र जग्गाको भाडा बुझाएमात्र भयो”, उहाँले भन्नुभयो ।

नदी किनारा आयआर्जन कृषक समूहले १० रोपनी क्षेत्रफलमा आलु लगाउने तयारी गरेको छ । गत वर्ष पाँच रोपनी क्षेत्रफलमा लगाएको आलुले राम्रो बजार पाएपछि यो वर्ष बढाउने समूहका सचिव सीता देवकोटा बताउनुहुन्छ ।

“अघिल्लो तीन क्विन्टल आलुबाट पन्ध्र क्विन्टलभन्दा बढी उत्पादन भयो, खेतबाटै आलु बिक्री ग¥यौँ, उत्पादन राम्रो भएपछि यो वर्ष बढाएर लगाउँदैछौँ”, उहाँले भन्नुभयो ।

समूहमा साथीहरुसँग आलु लगाउँदा रमाइलो भएको र आलु लगाउने नयाँ तरिका पनि नयाँ सिक्न पाइने भएपछि सामूहिक आलु खेतीमा यहाँका कृषकको आकर्षण बढ्दो छ । आलु बिक्रीबाट लिएको आम्दानी समूहको कोषमा राख्ने कृषक बताउँछन् । यो वर्ष यहाँका कृषकले जनकदेव जातको आलु लगाउँदैछन् ।

आलु खेती गर्न इच्छुक कृषक तथा समूहलाई वडा कार्यालयबाट अनुदानमा उन्नत जातको आलुको बीउ उपलब्ध गराइएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।

“यो क्षेत्रलाई आलु पकेट क्षेत्रका रुपमा विकास गर्न नगरपालिकाको ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत आलु उत्पादनमा जोड दिएको छ, कृषकले उत्पादन गरेको आलुले बजार नपाएमा वडा कार्यालयले व्यवस्थापन गरिदिनेछ, कृषकले जति हो धेरै मात्रामा आलु उत्पादन गरिदिए भयो”, वडाध्यक्ष न्यौपानेले भन्नुभयो ।

कृषकलाई खेतमै पुगेर आलु लगाउने तरिका, आलुमा लाग्ने रोग कीरा, उपचार पद्धति, आलु भण्डारण, बजारीकरणका सम्बन्धमा जानकारी दिने गरेको कृषि शाखा रामपुरका प्रमुख रामहरि पाण्डेयले बताउनुभयो । “रामपुरमा अन्य खेतीमा भन्दा आलु खेतीमा कृषकको उत्साह बढेको छ, आलुका लागि राम्रो सम्भावना बोकेको हुँदा कृषकले मनग्य आम्दानी गर्न सक्नेछन्”, शाखाप्रमुख पाण्डेयले भन्नुभयो ।

रामपुर नगरपालिकाका सबैजसो क्षेत्र आलुका लागि राम्रो रहेको छ । आलु बिक्रीका लागि बजार सहज, झट्ट नकुहिने, मूल्य राम्रै पाएपछि समूहमा कृषकले आलु लगाउन शुरु गरेका हुन् । रामपुर नगरपालिका क्षेत्रमा करिब दर्जनभन्दा बढी समूहले सामूहिक रुपमा आलु लगाउँदैछन् ।

नमूना च्याउ कृषक राना

काम ठूलो होस् या सानो मिहिनेत र जाँगर भयो भने दाम र कामका लागि विदेश नै जानु पर्दैन । गाउँमै बसेर कृषि व्यवसाय थालियो भने राम्रै कमाई गर्न सकिन्छ भन्ने एउटा उदाहरण बन्नुभएको छ, पाल्पा रामपुरका युवा बलबहादुर राना । वैदेशिक रोजगारीका क्रममा उहाँ चार वर्ष दुबई बस्नुभयो ।

वैदेशिक रोजगारको जीवन भोगाइले उहाँले गाउँ फर्केर लगत्तै कन्ये च्याउ व्यवसाय शुरु गर्नुभयो । सात वर्षअघि च्याउ व्यवसाय थालनी गर्नुभएका रानाले हाल खर्च कटाएर वर्षमा पाँच लाख जति कमाई गर्नुहुन्छ ।

पछिल्लो समय च्याउ खेतीसँगै भैँसीपालन तथा बाख्रापालन व्यवसाय पनि अँगाल्नुभएको छ । च्याउ व्यवसाय, भैँसीपालन तथा बाख्रापालन व्यवसायबाट खर्च कटाएर वर्षमा आठ लाख बराबरको कमाई गर्न सफल हुनुभएको छ ।

दूध बिक्रीका लागि रानाले पाँच भैँसी र तीनवटा उन्नत जातका गाई पाल्नुभएको छ । रानाले दैनिक ५० लिटर जति दूध बिक्री गर्नुहुन्छ । बाख्रपालन व्यवसाय पनि सञ्चालन गर्नुभएको छ । उहाँको फार्ममा हाल ४५ बाख्रा छन् ।

रानालाई यतिबेला च्याउ बिक्री गर्न भ्याईनभ्याई छ । अहिले च्याउको याम रहेकाले पनि रानाको दैनिकी च्याउ बिक्री गर्दैमा बित्ने गरेको छ । “बजारमा च्याउको माग बढ्न थालेपछि कसरी पु¥याउने भन्ने छ, च्याउबाट राम्रै कमाई भइरहेको छ”, रानाले भन्नुभयो ।

हाल चार सय बल्बमा लगाएको च्याउको उत्पादन भइरहेको छ । रानाले वर्षमा चार हजार बल्बमा च्याउ उत्पादन गर्दै आउनुभएको छ । यहाँ उत्पादन भएको च्याउ पाल्पा, स्याङ्जा, तनहुँलगायत विभिन्न स्थानमा खपत भइरहेको छ ।

प्रतिकेजी थोक बिक्रेता १५० र फुट्कर दुई सयमा च्याउ बिक्री भइरहेको छ । कम लगानीमा च्याउ खेतीबाट धेरै आम्दानी गर्न सफल व्यवसायी हुनुहुन्छ उहाँ । रानाले असोजदेखि वैशाखसम्म निरन्तर रुपमा च्याउ उत्पादन गर्नुहुन्छ ।

रामपुरमा च्याउ उत्पादन नहुने यामलाई दृष्टिगत गर्दै भैँसीपालन तथा बाख्रापालन व्यवसाय उहाँले शुरु गर्नुभएको हो । “गर्मीयाममा च्याउ उत्पादन रामपुर क्षेत्रमा त्यति राम्रो नहुने हुँदा गर्मीयामलाई दृष्टिगत गर्दै च्याउका अलावा भैँसी, बाख्रापालन व्यावसाय शुरु गरेको हुँ, यसबाट पनि राम्रै कमाई भइरहेको छ”, उहाँले भन्नुभयो ।

उहाँ दैनिक ७० किलोसम्म च्याउ उत्पादन गर्नुहुन्छ । च्याउ व्यवसायबाट रानालाई दाममात्र होइन जिल्लामै नमूना च्याउ व्यवसायीका रुपमा उहाँ चिनिनुहुन्छ । एक वटा बल्बमा तीनदेखि चार पटकसम्म च्याउ टिप्न सकिने उहाँको भनाइ छ ।

घरमै बसेर लाखौँ कमाई हुँदा वैदेशिक रोजगारीमा बिताएको चार वर्षको समय रानालाई पश्चाताप लागेको छ । घरपरिवारसँगै आफ्नै गाउँको माटोमा बसेर मनग्य कमाउन पाउँदा उहाँ यो व्यवसायमा खुशी हुनुहुन्छ ।

कम लगानी र परिश्रममा छोटो समयमा घरमै बसीबसी मनग्य कमाई गर्न सकिने भएपछि युवाहरु विदेश नै धाउनु नपर्ने रानाको अनुभव छ । गाउँमै बसेर, भैँसीपालन, बाख्रापालन, तरकारीलगायत विभिन्न कृषि व्यवसाय गरियो भने छोटो समयमा नै लखपति बन्न सकिने उहाँको व्यवसायले देखाउँछ ।