गभर्नर नेपालको टिप्पणी : बैंकमा नै पैसाको महत्व नबुझेका मानिसहरू छन्

‘बैंकिङ क्षेत्रमा पैसाको महत्व बुझेका मान्छे भएनन्’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रमा पैसाको महत्व नबुझेका मानिस बढी रहेको बताउनुभएको छ। वित्तीय जागरण अभिवृद्धि गर्ने कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रले सहभागी हुन चासो नदेखाएको भन्दै गभर्नर नेपालले यस्तो आक्रोश व्यक्त गर्नुभएको हो।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो– ‘बैंकिङ एक्पो शुरू भएको तीन वर्ष भइसक्यो तर यसको प्रभावकारीता बैंक तथा वित्तीय क्षेत्रमा न्यून छ,’ उहाँले थप्नुभयो– ‘पढेलेखेका व्यक्ति यो क्षेत्रमा काम गर्छन् तर कसरी पैसा कमाउने, पैसाको सदुपयोग कसरी गर्ने र मान्छेलाई कसरी धनी बनाउने भन्ने विषयमा भएको कार्यक्रममा उनीहरूको सहभागी न्यून हँुदा यो क्षेत्रमा नै गलत मान्छे पुगेका छन् भन्ने हुन्छ।’

नेपालमा उद्यमशीलताको प्रशस्त सम्भावना हँुदा पनि स्वदेशमा परिश्रम नगरी विदेश जाने प्रवृत्ति रहेको उहाँले बताउनुभयो। पसिना नेपालमा बगाउँदा लाज हुने भन्दै युवा विदेश गइरहेको उहाँको टिप्पणी छ।

‘विदेश नै जानुपर्छ रातभर लाइन लाग्छन्, लाठी चार्ज गर्नुपर्ने स्थिति छ,’ उहाँले भन्नुभयो–‘अनि अर्काको देशमा पसिना बगाएर हाम्रो देश बनेन भन्छन्। हाम्रो देश अरू कसलै बनाइदिँदैन। हामीले नै बनाउने हो।’

बैंकमार्फत आपूर्ति हुने पैसा सदुपयोग नभएकोमा पनि उहाँ चिन्ता व्यक्त प्रकट गर्नुभयो। ७ सय ४१ व्टा स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको उल्लेख गर्दै गभर्नर नेपालले घरघरमा पैसा सजिलै पुगिरहेको बताउनुभयो। ‘अधिकांश स्थानीय तहमा वाणिज्य बैंककै शाखा पुगिसकेका छन्,’ उहाँले प्रश्न गर्नुभयो–‘घरघरमा पुगेको पैसाको सदुपयोग किन नगरेको ?’