५२ शिक्षकको पदस्थापन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 
आइतबार महानगरका विभिन्न विद्यालयमा ५२ जना आधारभूत तहका शिक्षकको पदस्थापन गरिएको छ। शिक्षा तथा मानवस्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइबाट सिफारिस भइ आएका प्राथमिक शिक्षकलाई तृतीय श्रेणीमा नियुक्त दिई महानगरको शिक्षा समितिले पदस्थापन गरेको हो।
पदस्थापन हुनुहुनेमा ३९ महिला र  १३ जना पुरुष छन्। सबैलाई महानगरका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा शिक्षा अधिकारी निर्मला केसीले पद तथा गोपनीयताको शपथ गराउनुभयो।
सो अवसरमा बोल्दै मेयर बिद्यासुन्दर शाक्यले प्रतिस्पर्धाबाट उत्कृष्ट भएका शिक्षकहरूले आफ्नो योग्यताबाट अब्बल बिद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभयो। ‘तपाईहरूमध्ये अधिकांशले स्नातकोत्तर, शैक्षिक रूपमा सबल हुनुहुन्छ’, अब तपाईहरूले पढाएका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउनुपर्छ’ –मेयर शाक्यले भन्नुभयो।
महानगरमा विषयगत ३ वटा ३० वटा आधारभूत र ६१ वटा माध्यमिक विद्यालय छन्। यीमध्ये माध्यमिक तहमा ४ सय २०, निम्न माध्यमिक तहमा ४ सय ८६ र आधारभूत तहमा ८ सय ८८ शिक्षक दरबन्दी रहेको छ। यीमध्ये गएको साउन २९ गते माध्यमिक तहका २० जना शिक्षकको र कार्तिक २४ गते १ जना पुरुषसहित २६ जना निम्न माध्यमिक तहका शिक्षकको र आज ५२ जना आधारभूत तहका शिक्षकको पदस्थापन गरिएको हो।
यो पदस्थापन गएको १ वर्ष अघिको मागका आधारमा भएको हो। त्यसपछि पनि अवकाश प्राप्त गर्ने, राजीनामा दिने शिक्षक भएकाले आधारभूत तहमा करीब २२ जना शिक्षक दरबन्दी खाली छ। बैठकले निमावि तहका शिक्षकको पदस्थापनलाई अनुमोदन गरेको छ।
पशुपति मित्र माध्यमिक बिद्यालय चावहिलकी प्रमिला पाण्डे, परोपकार आदर्श माध्यमिक विद्यालय भीमसेनस्थानकी शीलु ढुङ्गाना र जनकल्याण माध्यमिक विद्यालय बौद्धकी शर्मिला राजभण्डारीलाई काजमै रहेको विद्यालयमा पदस्थापना गर्ने निर्णय गरेको छ।