पर्वतको कुश्मामा अलपत्र कभर्ड हल पुरा गरे खेलाडीले


न्युज अफ नेपाल, पर्वत ।

पर्वत सदरमुकाम कुश्माबजारमा अलपत्र रहेको आधुनिक व्याडमिन्टन कभर्ड हल खेलाडीको सक्रियतामा निर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय खेलुकद परिषदले निर्माण गरेर बिचमै अलपत्र परेको कर्भड हललाई पर्वत मोदीकाली ब्याडमिन्टन संघले निर्माण पुरा गरि सञ्चालनमा ल्याएको हो ।

ब्याडमिन्टन कर्भडहलको निर्माण पछि लामो समयदेखि खुल्ला चौर र विभिन्न सरकारी कार्यालयका प्राङ्गणमा व्याडमिन्टन खेल्दै आएका खेलाडीहरुलाई राहत भएको छ ।

पर्वत मोदीकाली व्याडमिन्टन संघले राष्ट्रिय खेलुकद परिषदले अलपत्र छाडेको कर्भडहल गण्डकी प्रदेश सरकार, स्थानीय कुश्मा नगरपालिका र विभिन्न खेलाडीहरुको सहयोगमा झण्डै ४० लाख रुपैयाको लागतमा सम्पन्न गरेको छ ।

राखेपले कर्भहलका लागि ७० लाख भन्दा बढी खर्च गरेको थियो भने समितिले पनि अझै २५ लाख भन्दा बढी ऋण गरेर निर्माण पुरा गरेको संघका उपाध्यक्ष सुनिल भुसालले बताउनुभयो । ऋण,धन गरेर अलपत्र कर्भहल निर्माण सम्पन्न गरेका हौ,

कर्भडहलको प्रतिनिधीसभाका सदस्य पदम गिरीले एक समारोहका बिच उद्घाटन गर्नुभयो । उहाँले खेलाडीहरुको उत्साह र मेहनतबाट आफुँ प्रभावित भएको बताउँदै कर्भडहल निर्माण सम्पन्न गर्नका लागि थप २० लाख रुपैँया सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै गिरीले स्वास्थ्यका लागि खेल अपरिहार्य भएको कुरामा जोड दिदै अरबौ खर्चेर अस्पतालमात्र निर्माण नगरी खेल मैदान र कभर्डहलहरुको पनि पर्याप्त विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

अस्पताल मात्र खोल्ने हैन, खेलमैदान र कभर्डहलहरुको पनि विकास गर्नुपर्छ उहाँले भन्नुभयो –‘मानिस स्वस्थ्य रहनका लागि खेलमैदान आवश्यक छ ।’ गिरीले जिल्लामा खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकारहरुबीच समन्वय गरी अघि बढ्न जरुरी छ भन्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतको प्रमुख मनोहर बी पौडेल, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, कुश्मा नगरपालिका वडा नं. ५ का अध्यक्ष चित्रकला शर्मा, खेलाडी तथा लोकसेवा आयोग बागलुङका प्रमुख गणेश पौडेलले पर्वतमा भौतीक संरचनाको अभावमा खेल गतिविधिहरु ठप्पजस्तै बनेको बेला यो कभर्ड हलको पर्याप्त उपयोग हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

कभर्डहल स्थापना भएपछि जुनसुकै मौसम र सिजनमा पनि खेल खेल्न सकिने भएको छ । साथै प्रदेश तथा अञ्चल र जिल्ला स्तरिय प्रतियोगिताहरु संचालन गर्न समेत सकिने भिमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रमको सञ्चालन सचिब बिनोद बि पोखरेलले गर्नुभएको थियो ।