डेभलपमेन्ट प्रमुखमा वेन्गर

0
Shares

लन्डन, (एजेन्सी)।

इंग्लिस प्रिमियर क्लब आर्सेनलका पूर्वप्रशिक्षक आर्सेन वेन्गर विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखमा नियुक्त भएका छन्।

फिफाले बुधबार फ्रान्सेली वेन्गरलाई ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखमा नियुक्त गरेको हो। केही समययता जर्मन क्लब बायर्न म्युनिखको प्रशिक्षक बन्ने चर्चा चलिरहँदा वेन्गर डेभलपमेन्ट प्रमुखमा नियुक्त भएका हुन्।

उक्त नियुक्तीसँगै वेन्गर अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड तथा फिफा टेक्निकल स्टडी समूहको सदस्यमा पनि रहनेछन्। वेन्गरलाई फिफाको मुख्यालय जुरिचमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले स्वागत गरेका थिए।

नियुक्तिपछि ७० वर्षीय वेन्गरले फिफाको यस उद्देश्यमा योगदान दिन सम्पूर्ण शक्ति खर्चने बताएका छन्। अब वेन्गरले विश्वभरको महिला र पुरुष फुटबलको कोचिङ, ट्रेनिङ र फुटबल कोचिङ, शिक्षा र प्राविधिक पक्षलाई नियाल्नेछन्।

२२ वर्ष आर्सेनलको मुख्य प्रशिक्षक रहेका वेन्गरले सन् २०१७/१८ को सिजन सकिएपछि क्लब छाडेका थिए। त्यसक्रममा उनले आर्सेनललाई तीन पटक प्रिमियर लिग, सात पटक एफए कपको उपाधि क्लबलाई दिलाएका थिए।