चेसमा कृष्णको ऐतिहासिक उपाधि

0
Shares

फिरोज राजोपाध्याय, काठमाडौं।

सिएम कृष्ण थापाले काठमाडौंमा भएको मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिपको उपाधि बिहीबार जितेका छन्। कृष्ण आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने पहिलो नेपाली बनेका छन्। योसँगै नेपाली चेसमा कृष्णले ऐतिहासिक उपाधि जितेका छन्।

बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको प्रतियोगिताअन्तर्गत ९ चरणको खेलमा उनले ८ अंक जोडेका हुन्। योसँगै उनले पहिलो पुरस्कार १ हजार ५ सय अमेरिकी डलर प्राप्त गरे। पाँचौं चरणसम्म ५ खेलाडीले संयुक्तरूपमा अग्रता लिएका थिए। कृष्णले छैटों चरणदेखि एकल अग्रता बनाउँदै लगेर अन्ततः उपाधि नै हासिल गरे।

उनले नवौं तथा अन्तिम चरणमा नेपालकै रिजेन्द्र राजभण्डारीलाई हराएर उपाधि पक्का गरेका हुन्। जितपछि कृष्णले नेपाल समाचारपत्रलाई बताए– ‘उपाधि जित्दा म एकदम खुसी छु। मैले सातौं चरणमा सजिन महर्जनलाई हराएपछि नै उपाधि जित्ने तय भएको थानें र जिते पनि। अर्को अहिलेसम्म आधिकारिक अन्तर्राष्ट्रिय चेस उपाधि कुनै नेपाली खेलाडीले जित्न सकेका थिएनन्।

मैले नै यस्तो ऐतिहासिक उपाधि नेपालका लागि जित्न पाउँदा निकै गौरवको महसुस गरेको छु। साथै नेपाली खेलाडीहरू कम नभएको यस प्रतियोगिताले सावित गरेको छ।

भविष्यमा अझ राम्रो खेलेर नेपाललाई ठूलाठूला प्रतियोगिताको उपाधि दिलाउनेछु।’ अन्तिम चरणको हारले भने रिजेन्द्र ६.५ अंकसहित पाँचौ स्थानमा धकेलिए। तर शीर्ष पाँच स्थानमा नेपाली खेलाडीले नै वर्चश्व जमाएका छन्।

अन्तिम चरणमा भारतका सुमित ग्रोभरलाई हराएका प्रकाश नेपाल ७.५ अंकसहित दोस्रो भएर १ हजार अमेरिकी डलर पुरस्कार हासिल गरे। भारतकै शुभम् शुक्लालाई हराएका पुरुषोत्तम चौलागाईं ७ अंकसहित तस्रो स्थानमा रहे। पुरुषोत्तमले ७ सय ५० अमेरिकी डलर हात पारेका छन्।यसैगरी चौथो र पाँचौं स्थानमा रहन सफल क्रमशः सजिन महर्जन र रिजेन्दले समान ५ सय अमेरिकी डलर प्राप्त गरेका छन्।

सजिनले भारतका सुमित आर्नभ कुशवहालाई हराएर ७ अंक जोडेका थिए। अन्तिम चरणमा पराजित ग्रोभर छैठांै भएर ४ सय डलरको हकदार भएका छन्। त्यस्तै सातौंदेखि दशौंसम्म नेपालका सुमित पन्त, आशिष फुयाँल, सुरवीर लामा र शुभम शुक्लाले स्थान पाएका छन्। जसमा सुमितले ३ सय ५० डलर प्राप्त गर्दा बाँकी ती खेलाडीले समान ३ सय डलर हासिल गरे।

महिलातर्फ भारतका सन्ध्या जीले उपाधि जितेकी छिन्। जीले ७ सय अमेरिकी डलर प्राप्त गरिन्। चीनकी सुन फुरुङ दोस्रो भएर ५ सय डलर हासिल गरिन्। त्यस्तै नेपालकी सुजना लोहनी तेस्रो, जापानकी कोजीमा नात्सुमी चांैथो र नेपालकै शुसीला गुरुङ पाँचौं स्थानमा रहे। उनीहरूले समान ३ सय डलरमा चित्त बुझाएका छन्।

नेपाल बुद्धिचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा १५ देशका ८४ खेलाडी सहभागि थिए। प्रतियोगिता सञ्चालन गर्न विश्व बुद्धिचाल महासंघले नेपाल बुद्धिचाल संघलाई १० हजार डलर उपलब्ध गराएको थियो।

प्रतियोगिता आयोजना निकै व्यवस्थित ढंगले भएकोमा बुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठले भविष्यमा अझै ठूलाठूला प्रतियोगिता आयोजना गर्न हौसला बढेको बताउनुभएको थियो।