बिद्यार्थीलाई गोली ठोक्छु भन्ने शिक्षिका पक्राउ

0
Shares

वासिंगटन,(एजेन्सी)।

अमेरिकाको वासिङ्टन राज्यका एक शिक्षकलाई आफ्ना विद्यार्थीलाई गोली ठोक्ने चेतावनी दिएको कारण प्रहरीले गिरफ्तार गरेको छ। बुधबार प्रहरीले जुली हिल्लेन्ड जोनेस नामक ती ५८ वर्षीया शिक्षिकालाई प्रहरीले उनकै निवासमा गएर सोधपुछ गर्दा माफी माग्नु वा कुनै गल्ती महसुस गर्नुको साटो उल्टै चेतावनी दिएकै हुँ भनी निहुँ खोज्न थालेपछि हिरासतमा लिइएको प्रहरीले जनाएको छ।

सियटलदेखि करिब ५६ किलोमिटर दक्षिणमा रहेको प्युयाल्लुपस्थित एमराल्ड रिजेज हाइ स्कुलमा उनले ज्यामिति पढाउँदै आएकी हुन्। तर कुन कारणले उनले आफ्ना विद्यार्थीलाई यस्तो धम्की दिनुपरेको हो भन्ने स्पष्ट हुन सकेको छैन।

उनले मंगलबार राति आफ्ना एक परिचित वयस्क व्यक्तिलाई आफूले तिनीहरूलाई गोली हान्ने चेतावनी दिएको बारे जानकारी दिएकी थिइन्। ती व्यक्तिले तत्कालै यसबारे शिक्षा अधिकारीलाई सूचना दिएका थिए। त्यसपछि प्रहरीको सहयोग मागिएको थियो।

विद्यालय जिल्ला अधिकारीहरूले हिल्लेन्ड जोनेसलाई तत्कालै प्रशासकीय बिदामा राखिएको बताएका छन्। पियर्स काउन्टी सेरिफका गुप्तचर अधिकारीले एड ट्रोयरले प्रहरी विभगले थुप्रै अभियोगमा उनलाई हिरासतमा लिइएको बताएका छन्।

उनले भनेका छन्– ‘यदि एकजना विद्यार्थीले यस्तै चेतावनी दिएको खण्डमा पक्कै पनि उनले त्यसको मूल्य चुकाएर जेल जानुपर्छ। यदि यस्तो काम कुनै शिक्षकले नै गर्छन् भने त्योभन्दा नराम्रो के होला?

शिक्षकलाई पनि कानुन लाग्छ नै।’ तर पक्राउका बेला उनको साथबाट कुनै पनि हतियार फेला नपरेको बताइएको छ। तर उनकै ब्रुकलिन बिस्सन नामक एक विद्यार्थीले भने उनी निकै मिलनासार तथा सहयोगी भएको र यो घटना सुनेर आफू स्तब्ध भएको बताएका छन्।