दलहरुको आन्तरिक तयारी तीव्र

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

स्थानीय तहको उम्मेदवासँगै देशभर उपनिर्वाचनको रौनक शुरू भएको छ।यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि दलहरुले आन्तरिक तयारीलाई तीव्रता दिएका छन्।नेपाल समाचारपत्रका जिल्ला संवाददाताका अनुसार मोरङको धनपालथान गाउँपालिकामा उप–निर्वाचनको चुनावी रौनक बढेको छ।

निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यतालिकाअनुसार स्थानीय तहको उम्मेदवारको मनोनयन दर्ता बुधबारदेखि शुरू भएको हो। आयोगका अनुसार स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ गरी जम्मा ४८ पदका लागि कुल २ सय ८१ जनाको मनोनयन पत्र दर्ता भएको आयोगले जनाएको छ।

गाउँपालिकामा रिक्त एक वडाध्यक्ष पदका लागि सात दलले उम्मेदवारी दिएका छन्। तामझाम, लावालस्कर र बाजासहित पुगेका उम्मेदवारहरूले बुधबार उम्मेदवारी दर्ता गराएका हुन्। वडाध्यक्षको चुनावी प्रतिस्पर्धाका निम्ति सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट पंकज मण्डलले मनोनयन दर्ता गराउनुभएको छ।

मण्डलको उम्मेदवारी दर्ता गराउनका लागि नेकपाका संघीय सांसद शिवकुमार मण्डलसहित प्रदेश र जिल्लाका नेताहरू धनपालथान गाउँपालिकाको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। यसैगरी नेपाली कांग्रेसका तर्फबाट नारायणप्रसाद साहले उम्मेदवारी दर्ता गराएका छन्। साहलाई समाजवादी पार्टी नेपालले समेत समर्थन गरेको छ।

साहको मनोनयन दर्ता गराउन कांग्रेसका जिल्ला सभापति डिकबहादुर लिम्बू र समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवसहित दुवै पार्टीका केन्द्रीय तथा जिल्लास्तरका नेताहरू पुगेका थिए। सो क्रममा नेपाली कांग्रेसका जिल्ला सभापति लिम्बूले प्रजातान्त्रिक शंक्तिहरू एकढिक्का हुनुपर्ने आवश्यकता महसुस गरी संयुक्त रूपमा साझा उम्मेदवारी खडा गरिएको प्रष्ट पार्नुभयो।

त्यस्तै समाजवादी पार्टीका जिल्ला अध्यक्ष यादवले देशमा बाम एकता भएकाले एक्लै लड्दा कमजोर हुने भएकाले सहमतिमा साझा उम्मेदवार खडा गरिएको बताउनुभयो।

वडाध्यक्षको चुनावी प्रतिस्पर्धामा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका तर्फबाट ज्योती पासवान, नेपाल लोकतान्त्रिक पार्टीबाट देवनारायण मण्डल र मंगोल नेसनल अर्गनाइजेसनबाट मेघनाथ पासवान, सीके राउत नेतृत्वको जनमत पार्टीबाट चनरादेवी मण्डल र राष्ट्रिय जनता पार्टीबाट चन्द्रानन्द मण्डलले उम्मेदवारी दर्ता गराएका छन्।

तत्कालीन एमालेबाट विजयी वडाध्यक्ष बलराम मण्डल भगतको २०७५ वैशाखमा मृत्यु भएपछि सो पद रिक्त भएको थियो। धनपालथान गाउँपालिकाको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचनको कार्यालयमा उमेदवारी दर्ताको गरिएको हो।

उम्मेदवारी दर्ताका क्रममा पहिलो नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले उम्मेदवारी दर्ता गराएको थियो भने त्यसपछि क्रमशः नेपाली कांग्रेस, नेकपा, नेपाल लोकतान्त्रिक पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय जनता पार्टी र अन्तिम समयमा जनमत पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका थिए।

धनपालथान गाउँपालिका वार्ड नम्बर २ मा ४ हजार ७४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। आगामी मंसिर १४ गते हुने उप–निर्वाचनका निम्ति वडा नम्बर २ को कार्यालयमा दुई र जनता माविमा तीन वटा मतदान केन्द्र राखिने बताइएको छ।

आयोगका अनुसार एक–एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो।
सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ।

रिक्त ४३ वडाध्यक्षमध्ये महोत्तरीको मटिहानी नगरपालिका–६ का वडाध्यक्षको राजीनामा भएको थियो भने विभिन्न स्थानीय तहका सातजना वडाध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित भएका थिए।

जिससमा निर्वाचित भएका वडाध्यक्षमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–७, लमजुङको सुन्दरबजार नगरपालिका–२, बाग्लुङको बडीगाड गाउँपालिका–२, प्यूठानको ऐरावती गाउँपालिका–१ र २, सल्यानको कुमाख गाउँपालिका –५ र कञ्चनपुरको पुर्नवास नगरपालिका–३ रहेका छन्।

आयोगका अनुसार यसअघिका वडाध्यक्षको विभिन्न कारणबाट निधन भएपछि उपनिर्वाचन हुन लागेको वडाहरुमा पाँचथरको फिदिम नगरपालिका–१ र हिलिहाङ गाउँपालिका–७, भोजपुरको पौवादुङमा गाउँपालिका–१, मोरङको धनपालथान गाउँपालिका–२, सुनसरीको धरान उपमहानगरपालिका–७,संखुवासभाको खाँदबारी नगरपालिका–३, खोटाङको साकेला गाउँपालिका–३, सिरहाको कल्याणपुर नगरपालिका–१२, महोत्तरीको बलवा नगरपालिका–२ र ८, सर्लाहीको हरिपुर्वा नगरपालिका–१ र रौतहटको गढिमाई नगरपालिका–२ रहेको छ।

यस्तै बाराको बारागढी गाउँपालिका–१, पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, रामेछापको उमाकुण्ड गाउँपालिका–५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२, काठमाडौंको दक्षिणकाली नगरपालिका–३, चितवनको भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिका–४ र ५ मा पनि उपनिर्वाचन हुन लागेको हो।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका–५, गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६, अर्घाखाँचीको मालारानी गाउँपालिका–३, प्यूठानको प्यूठान नगरपालिका–२, रोल्पाको थवाङ गाउँपालिका–१, दाङको घोराही उपमहानगरपालिका–१६, बाँकेको कोहलपुर नगरपालिका–६ मा पनि उपनिर्वाचन हुनेछ।

यसैगरी बाजुराको त्रिवेणी नगरपालिका–१, अछामको मेल्लेख गाउँपालिका–५, डोटी आदर्श गाउँपालिका–२, बैतडीको पुर्चौडी नगरपालिका–४, सुनर्या गाउँपालिका–१ र दोगडाकेदार गाउँपालिका–४ तथा कपिलवस्तुको शिवराज नगरपालिका–१० का वडाध्यक्षको मृत्यु भएका कारण ती वडामा वडाध्यक्ष पदका लागि उपनिवार्चन हुन लागेको आयोगले जनाएको छ।