एसएसबीकै अगाडि भारतविरुद्ध विद्यार्थीको प्रदर्शन

0
Shares

इलाम, (नेस)।

नेपाल भारत सिमावर्ती इलामको पशुपतिनगर सिमामा विद्यार्थीले भारतविरुद्ध चर्को नाराबाजी गर्दै विरोध प्रर्दशन गरेको छ। भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा सत्तारुढ नेकपाकै भ्रातृसंगठन अनेरास्ववियूले भारतविरुद्ध बिहीबार प्रदर्शन गरेको हो।

पशुपतिनगर बसपार्कबाट बिरोध र्याली निकालेको विद्यार्थीले सिमामा पुगेर कोणसभा गरेको हो। सीमा मिच्न पाइँदैन, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो, ‘गो व्याक इन्डिया’ लगायतका प्ले कार्ड बोकेर नाराबाजी गरेका थिए।

विरोधसभालाई सम्बोधन गर्दै युवा संघका केन्द्रीय लेखा आयोग सदस्य पेमा उगेन लामाले छिमेकीको नभई भारतीय मिचाहा प्रबृत्तिको विरोध गरेको बताउनुभयो। यस्तै अनेरास्ववियूका केन्द्रीय सदस्य रविन्द्र सुवेदीले नेपाली भूमिलाई भारतीय नक्साबाट हटाउन माग गर्नुभयो।

विरोध प्रर्दशन सूर्योदय नगरपालिकाको फिक्कलसहित पशुपतिनगरको फाटकमा प्रदर्शन गरेका थिए। सिमानामा विद्यार्थीले भारतको विरुद्ध प्रर्दशन गरिरहँदा पारिपट्टि रहेको भारतीय सिमा सुरक्षाबल (एसएसबी) ले प्रर्दशनको तस्वीर र भिडियो कैद गरेको थियो।

भारतले सीमा मिच्ने क्रममा पशुपतिनगरमै पनि दशगजा क्षेत्रमा गुम्बा तथा सुरक्षा बिट निर्माण गरेको छ। त्यस्तै हिले–छब्बीसे पुलखोलामा पनि भारतले सिमाना मिचेको छ।

इलामको रोङ गाउँपालिकाको जिर्मलेदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुरसम्म ५२ दशमलब २ किलोमिटर क्षेत्रमा सीमा समस्या क्षेत्र पर्दछ। यी क्षेत्रमा सीमा समस्या चर्को बन्दै गइरहेको छ।