कूटनीतिक पहल थाल्नुपर्छ : देउवा

त्रिदेशीय सहमति हुनुपर्छ : पौडेल

0
Shares

काठमाडौं, (नेस)।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतबाट नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल थाल्नुपर्ने बताउनुभएको छ। उहाँले नाराबाजी गरेर मात्रै समस्या समाधान नहुने बताउनुभयो।

बिहीबार नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई कूटनीतिक पहल गरेर सरकारले फिर्ता लिनुपर्ने बताउनुभयो।

सुगौली सन्धि हुँदा महाकाली नदीलाई सीमा नदी मान्ने र दुवै देशले आधा–आधा पानी बाँड्ने सहमति भएको उहाँको भनाइ थियो। नेता देउवाले आगामी उपनिर्वाचनका लागि कार्यकर्तालाई जिम्मेवार भएर लाग्न निर्देशनसमेत दिनुभयो।

कार्यकर्तालाई एकजुट भएर चुनावमा लाग्नुपर्ने उहाँको भनाइ थियो।यस्तै नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले बेइजिङमा लिपुलेकमा अन्तर्राष्ट्रिय व्यापार मार्ग खोल्ने भारत र चीनका प्रधानमन्त्रीले गरेको सहमतिका बारेमा पनि नेपालले बोल्नुपर्ने बताउनुभएको छ।

नेपाली कांग्रेस झापाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले लिपुलेक त्रिदेशीय सिमानामा पर्ने नेपाली भूमि भएकाले नेपालको समेत सहभागिताका सो सहमति हुनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘लिपुलेकमा अन्तर्राष्ट्रिय व्यापार मार्ग खोल्ने विषयमा नेपालको समेत सहभागिता हुनुपर्ने हो। तर नेपाललाई बाहिर राखेको विषयमा पनि कुरा गर्नुपर्छ।’

पौडेलले दुईतिहाइको सरकार अनि प्रतिपक्षको साथ भएका बेलामा सरकारले कूटनीतिक पहल गरेर सीमा विवाद समाधान गर्न नसके कम्युनिस्टहरूले राष्ट्रवादको नारा लगाउन छोड्नुपर्ने बताउनुभयो।