गल्याङ्का किसानलाई घाँसको विउ


अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिकाले किसानहरुलाई उन्नत जातको घाँसको विउ वितरण गरेको छ । किसान सम्बन्धि विभिन्न संस्था तथा व्यावसायिक फर्महरुलाई अनुदानको रुपमा घाँसको विउ वितरण गरिएको हो ।

गल्याङ नगरपालिका भित्रका कृषि फर्म तथा व्यवसायिक कृषकहरुलाई झण्डै १७ सय किलोग्राम घाँसको विउ वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख सुशिल अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार जै जातको घाँसको विउ १६ सय किलोग्राम र बर्सिम जातको घाँसको विउ ७० किलो ग्राम वितरण गरिएको छ । विउ पाएपछि गल्याङ्का किसान उत्साहित भएका छन् ।

घाँसको विउ वितरण गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरपालिकाबाट दिइएको विउको सदुपयोग गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।

अनुदान मार्फत दिएको विउले किसानलाई पुग्दैन अधिकारीले भन्नुभयो,“किसान जागरुक हुन सकेमा मात्रै नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ ।” नगरपालिकाले नगरवासीलाई आयआर्जनको बाटो अवलम्वन नगरे सम्म नगरपालिकाको समृद्धि नहुने अधिकारीले बताउनुभयो । कृषिमा आत्मनिर्भर बनाउने योजना अनुसार नगरपालिकाले किसानहरुलाई घासको विउ वितरण गरेको अधिकारीको भनाई थियो ।

दुध किनेर खानुपर्ने नगरपालिकाबाट अहिले दैनिक २३ सय लिटर दुध निर्यात गर्न सफल भएका छौं अधिकारीले भन्नुभयो “यो किसानहरुको जागर र लगनशिलताको परिणाम हो ।” नगर प्रमुख अधिकारीले किसानमा अझै उत्साह थपेर यस वर्ष भित्र पाँच हजार लिटर दुध उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो ।

नगरपालिकाका हरेक वडालाई कृषि क्षेत्रको विकास गर्ने योजना अनुरुप जमिन अनुसारको कृषि उपज उत्पादनमा किसानहरुलाई जागरुक बनाउने अधिकारीले बताए । आफु नगर प्रमुख नभएर किसानका लागि भरिया र गोठालो हो अधिकारीले भन्नुभयो,“किसानका लागि सहयोग गर्न नगरपालिकाले कुनै कसर बाँकी राख्ने छैन ।” विदेशी आयत भन्दा स्वदेशमा उत्पादन गरेर निर्यात गर्न सकेमा मात्रै समृद्धि आउने अधिकारीले बताउनुभयो ।

बाहिर बाट ल्याउन सबै व्यस्त भयौं तर आफ्नै करेसाबारीमा कृषि उत्पादन गर्ने सोच आउन नसक्दा आर्थिक व्ययभार बहन गर्नुपरेको अधिकारीको भनाई छ । गल्याङ नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउने अभियान एक बर्ष अगाडी देखि शुरु गरिएको थियो ।

किसानको दुधलाई अहिले नगरपालिकाले खरिद गरिदिएकाले किसानलाई दुध बिक्रि गर्न कुनै समस्या नभएको पशुशाखाको प्रमुख अर्यालले बताउनुभयो । नगरपालिकाले दैनिक ५ हजार लिटर दुध उत्पादन गर्ने लक्ष्य अनुसार अगाडी बढेको जनाएको छ ।