महानगरीय प्रहरी दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न


न्युज अफ नेपाल, भक्तपुर ।

१४औं महानगरीय प्रहरी दिवस २०७६ को अवसरमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक सांस्कृतिक तथा बैण्ड डिस्प्ले कार्यक्रम भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सूर्यविनायक चोकमा बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय संगित विद्यालय सामाखुसीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र गुरुङको नेतृत्वमा नेपाल प्रहरीका कलाकार एवं विभिन्न विद्यालयका विद्यार्थीहरुले सचेतनामूलक नृत्य, गीत, नाटक लगायतका विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले सांस्कृतिक कार्यक्रमले समाजमा शान्ति सुरक्षा कायम गर्न चेतना अभिवृद्ध गर्ने उल्लेख गर्दै नागरिकले अपराधिक क्रियाकलाप हुन नदिन प्रहरीसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले स्वागत मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमले अपराध विरुद्ध लड्न प्रहरी र समुदायबीच एक्यबद्धता हुने विश्वास व्यक्त गर्नुभयो ।

समुदाय–प्रहरी साझेदारी पालिका समिति सूर्यविनायक नगरपालिका, महानगरीय प्रहरी वृत्त जगाती र सामुदायिक-प्रहरी सेवा केन्द्र कटुन्जेको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, सूर्यविनायक नगरपालिकाका वडा अध्यक्षहरु, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका प्राध्यापक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय बासिन्दा लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।