महानगरीय प्रहरी दिवसको अवसरमा चित्रकला प्रतियोगिता सम्पन्न


न्युज अफ नेपाल, काठमाडौं ।
१४औं महानगरीय प्रहरी दिवस २०७६ को अवसरमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तर विद्यालय चित्रकला प्रतियोगिता नेपाल पुलिस क्लव भृकुटीमण्डपमा बिहीबार सम्पन्न भएको छ ।

सो अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले चित्रकला रचनात्मक कार्य भएकोले कलापूर्ण मानिसबाट सबै जनाले ज्ञान आर्जन गर्ने अवसर मिलेको उल्लेख गर्नुभयो । कला प्रस्तुत गर्दै जाँदा एक दिन जीवनमा ठूलो सफलता प्राप्त गर्ने अवसर मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा चित्रकला प्रतियोगिता उपसमितिका संयोजक महानगरीय प्रहरी शिक्षालय महाराजगंजका प्रहरी उपरीक्षक डम्मर बहादुर बिकले प्रहरीले सम्पादन गर्दै आएका विविध गतिविधिको बारेमा चित्रकला प्रतियोगितामा सहभागी विद्यार्थीहरुले प्रस्तुत गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उक्त अवसरमा ललितकला क्याम्पस कीर्तिपुरका प्राध्यापक नेम बहादुर तामाङ र निर्णायक मण्डलीकोतर्फबाट चिराग वाङदेलले समेत चित्रकला सम्बन्धि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवली, प्रहरी अधिकृत लगायत विभिन्न विद्यालयका प्राध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।