कृषिमा उत्पादकत्व वृद्धि गर्न गहुँको बिऊमा अनुदान वितरण


यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा किसानलाई अनुदानमा गहुँको बिऊ वितरण सुरु गरिएकोे छ ।

नगरको वार्षिक स्वीकृत कार्यक्रमअनुसार बिहीबारबाट ४० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण सुरु भएको हो ।

नगरपालिकाले गत वर्ष पनि गहुँको बिऊमा ४० प्रतिशत अनुदान दिएको थियो । किसानलाई प्रोत्साहन गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने नीतिअनुसार गहुँको बिऊमा अनुदान दिइएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।

किसानबाट माग परिमाण संकलन गरेर भलबारी दल्का स्थित कृषि सेवा केन्द्रमार्फत् बिऊ वितरण गरिएको हो ।

नगरपालिकाले यसअघि सूचना जारी गरी आफूलाई चाहिने गहुँको बिऊको विवरण वडा कार्यालयमा टिपाउन किसानलाई जानकारी गराएको थियो । नगरपालिकाले भृकुटी, आदित्य, विजय, एनएल, गौतम जातको उन्नत गहुँको बिऊ उपलब्ध गराएको हो ।

बिहिबार भलबारी स्थित कृषि सेवा केन्द्रमा नगर प्रमुख बासुदेव घिमिरेले वडा नं. ११ मृगौलीका किसान विश्राम कुँवर र रामलगन यादवलाई एक-एक बोरा बिउ उपलब्ध गराएर वितरण कार्य सुरु गर्नुभयो ।

गहुँ वितरणको व्यवस्थापन कृषि शाखा र कृषि व्यवसाय प्रवद्र्धन समितिको सहकार्यमा भएको छ । गत वर्ष ५२ मेट्रिक टन गहुँको बिऊ वितरण गरिएकोमा यस वर्ष १४५ मेट्रिक टन माग रहेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो ।

नगर उप–प्रमुख जागेश्वरी चौधरीले बिऊको सदुपयोग गरी कृषि उत्पादन बढाउन किसानहरुलाई आग्रह गर्नुभयो । गत वर्ष अनुदानमा उन्नत जातको बिऊ दिएकाले गहुँ उत्पादन २० प्रतिशतले बढेको कृषि शाखा अधिकृत जीवन आचार्यले बताउनुभयो । तिलोत्तमाको वडा नं. १३, १४, १६, १७ मा गहुँको उत्पादन बढी हुने गरेको छ । कार्यक्रम वडा नं. ७ का कार्यवाहक अध्यक्ष देविलाल पंगेनीको अध्यक्षतामा भएको हो ।