भक्तपुर प्रदेशक्षेत्र नम्वर १ क मा चुनावी रौनक : नेकपा,कांग्रेस र नेमकिपा मुख्य प्रतिस्पर्धी

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर,(नेस) ।

भक्तपुर क्षेत्र नम्वर १ क मा प्रदेश सभाका लागि उपनिर्वाचनको मिति नजिकिएसँगै यहाँ चुनावी रौनक देखिन थालेको छ । सार्वजनिक स्थलदेखि छरछिमेकमा चुनावी गफगाफले नै प्रथमिकता पाएको छ ।

भक्तपुरमा हाल बिहानको घामसँगै चुनाव कसले जित्लान् भन्ने बारेमा बहस साथै विभिन्न आँकलन हुन् थालेका छन् ।चुनावमा भाग लिएका सबै दल र उम्मेदवार दुवाकोटदेखि ताथलीसम्म जनमत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् ।

घरदैलौ अभियानमा कांग्रेसले बिशेषगरी हरेक दिन केन्द्रीय नेताहरु पनि सँगै लिएर हिड्ने गरेको छ ।अभियानमा कांग्रेस महामन्त्री पुर्णबहादुर खड्कादेखि प्रबत्ता बिश्वप्रकाश शर्मा,मोहनबहादुर बस्नेत,एनपी साउद,रामहरी खतिवडा ,बिनोदप्रकाश कायस्थ ,भुपेन्द्रजंग शाही समेत सकृय भएका छन् ।

यसैगरी नेकपाका नेता बामदेब गौतमदेखि अष्टलक्ष्मी शाक्य,महेश बस्नेत,दिलीप प्रजापति लगायत बिद्यार्थी र युवा संघका केन्द्रीय नेताहरु पार्टीलाई मत माग्ने अभियानमा जुटेका छन् ।

१४ मंसिरमा हुने उपनिर्वाचनमा भक्तपुर–१, प्रदेश सभा (क) मा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी कांग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको दाबी सँगसँगै भक्तपुरमा प्रभावशाली मानिने नेमकिपाले जनताले आफूहरूलाई खोजेको जिकिर गरेको छ । तर पनि मुख्य प्रतिस्पर्धी भने नेकपा र कांग्रेसबीच नै हुने देखिन्छ ।

नेकपाले देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार बनाएको छ । कांग्रेसले संविधानसभामा उम्मेदवारसमेत रहेका कृष्णलाल भडेललाई प्रतिस्पर्धामा अघि सारेको छ । नेमकिपाले युवा नेता निरज लवजूलाई उम्मेदवार बनाएको छ ।

अघिल्ला चुनावमा यस क्षेत्रमा चौथो शक्तिका रूपमा रहेको राप्रपा संयुक्तका रामशरण लामिछानेको मनोनयन रद्ध भएपछि यसपटकको निर्वाचनमा सो पार्टीको भूमिका निर्णायक हुन सक्ने अनुमान गरिएको छ ।

उनको नाम समानुपातिक बन्द सूचीमा भएको भन्दै निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेन । अघिल्लो चुनावमा यस क्षेत्रबाट एमाले–माओवादी गठबन्धनका तर्फबाट हरिशरण लामिछाने चुनिएका थिए । हृदयघातबाट उनको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । ढकाल नेकपाका जिल्ला सचिव छन् तर असन्तुष्टिबीच नेकपालाई साख जोगाउन चुनौती छ ।

उनलाई उम्मेदवार नबनाउन माग गर्दै कार्यकर्ताले दुई दिन पार्टी कार्यालयमा ताला लगाए । कार्यकर्ताले नै टुरिष्ट उम्मेदवार फेर्न पर्ने दाबी गर्दै दकाललाई नस्वीकार्ने सन्देश दिए भलै अहिले सतहमा एकता देखिएको छ ।

माओवादी केन्द्रको सहयोगमा अघिल्लो निर्वाचनमा लामिछानेले १२ हजार ७ सय ८९ मत ल्याएर जितेका थिए । यहाँको चाँगुनारायण नगरपालिकामा बहुमतसहित नेकपाकै केन्द्रीय सदस्य सोमप्रसाद मिश्र मेयर छन् । zध्ययनशील र गम्भीर छवि बनाएका ढकालको उम्मेदवारीसँग सत्तारुढ नेकपाको साख बचाउने विषय जोडिएको छ ।

माओवादी पृष्ठभूमिका ढकाललाई उम्मेदवार बनाउँदा पूर्वएमाले कार्यकर्ताले विरोध गरेकाले पार्टीभित्रको असन्तुष्टि सम्बोधन गर्न नेकपालाई चुनौती छ । ढकाल नेकपा नेता तथा ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’सँग निकट मानिन्छन् ।

काभ्रेमा जन्मिएका ३८ वर्षे ढकालको हाल भक्तपुर–१० मा घर छ तर उनी पेप्सीकोलामा बस्दै आएका छन् । मुख्य रूपमा संगठन र कार्यकर्ताको बल, जनताको विकासप्रतिको चाहना र नेकपाको समृद्ध भक्तपुर बनाउने अभियान नै विजयको मुख्य आधार हो,भन्छन् ढकाल ।

गिरेको छवि उँचो बनाउनुपर्ने दबाब छ कांग्रेसलाई ।भँडेल ०७० को संविधानसभा निर्वाचनमा भक्तपुर–१ बाट पराजित हुन् । त्यसवेला भक्तपुर–१ बाट नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छें विजयी भएका थिए ।

यसअघि प्रदेश सभा सदस्यको निर्वाचनमा राप्रपा संयुक्त र कांग्रेस गठबन्धनका उम्मेदवार जीवन खत्रीले ९ हजार ९ सय ७७ मत ल्याएर पराजित भएका थिए । हारका कारण गिरेको पार्टीको छवि उँचो गर्नुपर्ने भडेललाई दबाब छ ।

चाँगुका स्थानीय भडेल ०४९ मा जिविस उपसभापति भएका थिए भने ०५४ मा चाँगु गाविसको अध्यक्षमा पराजित भए । ६३ वर्षे भडेललार्ई पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधीको बलियो साथ छ ।

zगरपालिकादेखि केन्द्रसम्मका सरकारसँग जनताहरू रुष्ट बनेका छन् । जनताको निराशालाई आशामा बदल्न मेरो उम्मेदवारी हो ,भन्छन् भँडेल ।

नेमकिपा भने पुरानो बिरासत बचाउन कसरत गरिरहेको छ ।भक्तपुरमा दशकौँदेखि पकड जमाएको नेमकिपा प्रदेश निर्वाचन क्षेत्रमा पनि पकड जमाउने कसरतमा छ । लवजूलाई दोहो¥याएर प्रदेश सभा उम्मेदवार बनाएको छ । नेमकिपा ठूला पार्टीका कमजोरी देखाएर गत चुनावभन्दा बढी सहानुभूतिको मत लिने दाउमा छ ।

यसअघिको प्रदेश निर्वाचनमा लवजूले ७ हजार १९ मत ल्याएका थिए । स्थानीय चुनावमा चाँगुनारायण नगरपालिकामा मेयरका उम्मेदवार न्हुछेभक्त फोजूले ४ हजार ४ सय ४२ मत पाएका थिए । ३४ वर्षे लवजूलाई पार्टीको बिरासत जोगाउन जित्नपर्ने दबाब छ ।

लवजू पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघका पूर्वअध्यक्ष पनि हुन् । उनी ०७० को संविधानसभा सदस्यको निर्वाचनमा कास्की–२ बाट उम्मेदवार थिए । नेमकिपाले चाँगुनारायण नगरपालिकामा पनि संगठन बढाउन निरन्तर कसरत गरेको छ ।

सत्तापक्षप्रतिको जनआक्रोश, गुटबन्दी र आन्तरिक खिचातानीले थिलथिलो बनेको कांग्रेसको उत्कृष्ट विकल्पका रूपमा हामीले आफूलाई उभ्याएका छौँ,लवजु भन्छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उठेका श्यामप्रसाद नेपाल पार्टीले राष्ट्रियताको आधारमा उठाईएका मुद्धाहरु सबल र समृद्ध बन्दै गएको बताउनुहुन्छ । उहाँभन्नुहुन्छ,जनजिबिका र सामाजिक दायित्व पुरा गर्नमा हाम्रो पार्टी अग्रपंक्तिमै छ ।

यस पटक हाम्रो क्षेत्रमा भएका मतदाताहरुले बिगतमा भए गरेका पार्टीहरुले गरेको राज्य संचालनको व्यवस्था ,जनता माथि गरेको शासन देखीसकेका छन् ,।यसरी शासन हैन जनताको सेवक भएर काम गर्नूुपर्छ भन्ने मुल धारा लिएर हामी चुनावमा उत्रिएका छौं ।आशा छ जनमत हाम्रो पक्षमा हुनेछ ।

कानुनी जानकारी नहुँदा उम्मेदवारी दर्ता गर्न चुकेको राप्रपा संयुक्त यसपटकको निर्वाचनमा निर्णायक भूमिकामा हुन सक्ने देखिन्छ । विगतका चुनावमा चौथो शक्ति रहेको राप्रपा संयुक्तका रामशरण लामिछानेको मनोनयन रद्ध भएपछि मुख्य प्रतिस्पर्धी तीनमध्ये कुनै एकलाई सहयोग गरे उसको मत निर्णायक हुन सक्छ ।

एक प्रदेश सभा सदस्य पदका लागि भक्तपुर–१ (क) प्रदेश सभा निर्वाचन क्षेत्रमा १९ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये १० जना स्वतन्त्र उम्मेदवार छन् । नेपाली कांग्रेस (बिपी)बाट मधुसुदन न्यौपाने, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङमार लामा, समाजवादी पार्टीबाट सुदर्शन कुमार, नेकपा मालेबाट सुदर्शन लामिछाने र साझा पार्टीबाट सुरज प्रधानले उम्मेदवारी दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेदवारमा अर्जुन कोजू, राकेश सुवाल, उत्तम साखकर्मी, कृष्णप्रसाद ह्योगो, कृष्णराम पोतामाहा, जीवनचन्द्र अधिकारी, जीवन नेपाली, संगीता पौडेल, सुजाता देउजा र सुमना कार्कीले उम्मेदवारी दिएका छन् ।

राप्रपा संयुक्तका उम्मेद्वारको उम्मेदवारी खारेज भएसँगै भक्तपुरको राजनीतिक माहोल राप्रपाको भोट कता जान्छ त भन्नेमा पनि केन्द्रीत देखिन्छ । पाँच हजार हाराहारीमा मत रहेको राप्रपाले कसलाई सघाउँछ उसको जीत पक्का नै छ । यसै कारण पनि उस प्रति सबै राजनीतिक दलको ध्यान केन्द्रित भएको छ ।नेकपा ,नेपाली काँग्रस साथै नेमकिपा पनि यसको फाइदा लिन राप्रपा संयुक्तसँग सहकार्यका लागि लागि परेका छन् ।यस प्रदेशसभामा क्षेत्रमा ४५ हजार १५ मतदाता रहेका छन् ।