दिपेश, विष्णु र नवीनलाई मात्र सफलता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा पहिलो पटक सञ्चालन भएको योनेक्स सनराईज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्जमा दिपेश धामी, विष्णु कटुवाल र नवीन श्रेष्ठले बुधबार विजयी शुरुआत गरेका छन्।

दिपेशले भारतका दीपक शर्मामाथि २१–१०, २१–१६ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका हुन्। यस्तै विष्णुले भुटानका निदुप दोर्जीलाई पराजित गर्दै दास्रो चरणमा स्थान बनाए।

विष्णुले दोर्जीमाथि २१–९, २१–४ को सहज जित निकालेका थिए। नवीन श्रेष्ठले भने प्रतिद्वन्द्वीबाट वाकओभर प्राप्त गर्दै दास्रो चरणमा प्रवेश गरेका छन्। नवीनले भारतका अभिषेक यालगारबाट वाकओभर पाएका थिए।

तर नेपालका शीर्ष खेलाडी रत्नजित तामाङ भने पराजित हुन पुगे। तामाङ थाईल्यान्डका अदुईराच नामकुलसँग २१–९, २१–४ अंकका साथ पराजित भएका हुन्।

यस्तै अर्का खेलाडी विकास श्रेष्ठ र प्रफुल महर्जनले पनि आफूलाई खरो उतार्न सकेनन्। विकास इङल्यान्डका खेलाडी वाङ युह्वाङसँग २१–१३ र २१–१४ ले तथा प्रफुल भारतका सिद्धार्थ ठाकुरसँग २१–१४, २१–१० ले पराजित भए।

यसैगरी अर्का खेलाडी साजन कृष्ण ताम्राकारले वाकओभर दिए। उनको प्रतिस्पर्धा भारतका किरण कुमार मेलकासँग हुने तय थियो।

प्रिन्स पनि असफल

दुवई अन्तर्राष्ट्रिय सिरिज र हालै मालदिभ्समा सम्पन्न जुनियर च्याम्पियनसिपमा पदक जितेका प्रिन्स दाहालले पनि जित हात पार्न सकेनन्। नेपालका उदीयमान खेलाडी दाहाल दोस्रो वरीयता प्राप्त रसियाका सर्जी सिरान्तसँग २१–१७, २१–१२ को सेटमा पराजित भए।

यस्तै अन्य खेलाडी सुनिल जोशी र जीवन आचार्यले पनि नेपाली दर्शकलाई निरासनै तुल्याएका थिए। सुनिल अस्ट्रेलियाका खेलाडी केथ मार्क ईडिसनसँग २२–२०, २१–११ ले तथा जीवन भारतका सिलि बर्मासँग २१–१२, २१–१३ ले पराजित भए।

महिलातर्फ पनि निरासजनक

नजिकै आइरहेको १३औं दक्षिण एसियाली खेलकुदका लागि तयारीमा रहेको नेपाली महिला खेलाडीले विदेशी खेलाडी सामु टिक्न सकेनन्।

महिला युगलतर्फ अमिता गिरी र अनुमाया राईको जोडी भारतका कुहु गर्ग र अनुष्का पारिखसँग २१–१७, २१–८ ले, पूजा श्रेष्ठ र जेशिका गुरुङ बंगलादेशका अक्तर सप्ला र अलिना सुल्तानसँग २१–९, २१–१४ ले, निता लम्साल र सिमा राजवंशीको जोडी भारतका मनिषा र रुतापर्ना पन्डासँग २१–१४, २१–१४ को समान अन्तरले तथा रसिला महर्जन र सीता राईको जोडी भारतकै अपर्ना बलान र त्रिशा जोलीसँग २१–१०, २१–१० को समान अन्तरले पराजित भए।

२५ हजार डलर पुरस्कार राशी रहेको च्यालेञ्जमा पुरुष तथा महिला एकल र युगल तथा मिश्रीत युगल गरी कुल ५ विधामा नेपाललगायय २१ राष्ट्रका १४९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।