बलत्कारीलाई फाँसी वा लिंग काट्न माग


न्युज अफ नेपाल, हेटौंडा ।

जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका एक युवालाई हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरिएको छ । बालिकाका आफन्त र स्थानीयले जिल्ला प्रहरी कार्यालय मकवानपुरको गेटअगाडि प्रदर्शन गरेका हुन् ।

हेटौंडा–१५ निवासी २८ वर्षीय जयराम रुम्बाले आठ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ । रुम्बाले घरमा कोही नभएको बेला करणी गरेका थिए । बेहोस अबस्थामा फेला परेकी बालिकालाई हेटौंडा अस्पतालमा जाँच गराउँदा करणी भएको पुष्टि भएको थियो ।

घटनापछि आक्रोशित पीडित पक्षले बुधबार जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गर्दै रुम्बालाई फाँसी वा लिंग काट्ने वा हदैसम्मको सजाय माग गरेका हुन् ।

उनलाई मकवानपुर प्रहरीले कार्तिक १८ गते पक्राउ गरेको र १० दिन म्याद थप गरी अनुसन्धान थालिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । उपरीक्षक सिंहले घटनामा मकवानपुर प्रहरी संवेदनशील रहेको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।