आत्महत्या दुरुस्साहन मुद्दाका आरोपी धरौटीमा छुटे


न्युज अफ नेपाल, पर्वत ।

कालीगण्डकी किनारमा मृत भेटिएकी बिजु जिसीलाई आत्महत्या दुरुत्सासन गरेको आरोपमा थुनामा रहेका उनका श्रीमान र सासुआमा चार-चार लाख धरौटीमा छुटेका छन् ।

पर्वत जिल्ला अदालतका न्यायधीश सुर्यबहादुर थापाको एकल इजलासले बागलुङ्ग नगरपालिका–३ की १८ बर्षीया बिजुका श्रीमान बागलुङ्ग नगरपालिका ३ का ३४ बर्षिय असिम खड्का र सासुआमा बिबी खड्कालाई धरौटीमा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो ।

असोज १७ गते देखि हराउनुभएकी जिसीको शब पर्वतको बिहादी गाउँपालिका १ बाच्छामा पर्ने कालीगण्डकी किनारमा असोज २८ मा भेटिएको थियो । मृतकका माइतीपक्षको जाहेरीमा प्रहरीले मृतकका श्रीमान र सासुलाई पक्राउ गरि आत्महत्या दुरुत्साहन कसुरमा कार्तिक २ गते मुद्दा दर्ता गरेको थियो ।

जलजला गाउँपालिका–५ लेकफाँट गैरागाउँ माइती भएकी जिसीले गएको भदौ २ मा बागलुङ्ग नगरपालिकाको गुठी निवासी ३४ बर्षीय असिम खड्कासंग प्रेम बिबाह गर्नुभएको थियो ।

बिबाहपछि परिवारले अस्विकार गरेको र परिवारकै यातनाका कारण घर छाडेर हिडेको भनेर मृतकका माइती पक्षले आरोप लगाएका थिए । माइती पक्ष छोरीलाई मानसिक र शारिरीक दबाब दिदै आएको हुनाले घटना घटेको दाबी गर्दै थप अनुसन्धान गर्नुपर्ने माग गरेपछि प्रहरीले थप अनुसन्धान गरिरहेको थियो ।