धुलिखेल उपनिर्वाचनः उम्मेदवारी दर्ता, वडा अध्यक्षमा चार


मोतीराम तिमल्सिना, काभ्रै ।

धुलिखेल नगरपालिका वडा नम्वर २ रविगाउँमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि बुधबार चार जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेकपाबाट देवप्रसाद कोईरालाको उम्मेदवारी दर्ता भएको छ भने नेपाली कांग्रेसबाट दर्णबहादुर खत्री, राष्ट्रिय जनता पार्टी नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट बासुदेव थापाको उम्मेदवारी उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्ताका लागि नेकपाबाट पार्टी अध्यक्ष रुकु चौलागाई, सचिव टोकबहादुर वाईवा, पुर्व राज्य मन्त्री सुर्यमान दोङ, प्रदेश सभा सदस्यहरु बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा लगायतका नेता तथा कार्यकर्ताहरु बाजागाजा सहित निर्वाचन अधिकृतको कार्यालय उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।

देवप्रसाद कोईरालाको उम्मेदवारीमा वडा कमिटी अध्यक्ष उद्धवप्रसाद चौलागाई प्रस्तावक रहनु भएको छ भने बालकृष्ण सापकोटा समर्थक रहनु भएको छ । नेकपाका उम्मेदवार कोईराला ५० वर्ष पुग्नु भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार दर्णबहादुर खत्रीको प्रस्तावक बलराम कोईराला र समर्थक रघुनाथ गौतम रहनु भएको छ । दर्णबहादुर ६५ वर्षको हुनुुहुन्छ । राष्ट्रिय जनता पार्टी नेपालका तामाङ ४६ वर्षको हुनुुहुन्छ ।

उहाँको प्रस्तावक एकबहादुर तामाङ र समर्थक सुफतसिं तामाङ रहनु भएको थियो । राप्रपा संयुक्तका थापा ६५ वर्षको हुनुुहुन्छ । उहाँको तर्फबाट प्रस्तावक श्यामबहादुर गेलाल र समर्थक सुभाष तामाङ रहनु भएको छ । कार्तिक २० गते बुधबार धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।

धुलिखेल नगरपालिका वडा नम्वर २ मा वडा अध्यक्ष पदका लागि नेकपा र नेपाली कांग्रेस प्रतिस्पर्धी हुन् । नेकपाबाट पुर्व एमालेका गाउँ कमिटीको सचिव रहेर लामो समय पार्टी राजनीतिमा सक्रिय भई शिक्षण पेशामा समेत दुई दशक सेवा पु¥याएका देवप्रसाद कोईरालाको उम्मेदवारी दर्ता गरेको छ ।

कोईराला सामाजिक, राजनीतिक र पार्टीका काममा कृयाशिल ब्यक्ति हुन् । ८ जना आकाँक्षीलाई पछि पार्दै कोईरालाको नाममा पार्टीले टिकट दिने निर्णय गरेको थियो । नेपाली कांग्रेसले स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा न्यून मत प्राप्त गरेकाले जित्ने सुनिश्चित नभएकाले उम्मेदवारहरुको संख्यामा चर्चा थिएन ।

वडा सदस्यमा पराजित दणबहादुर केसीले नेपाली कांग्रेसबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । हार्ने निश्चित भए पनि भित्र भित्रै उम्मेदवारी दिने ब्यक्तिहरुको चर्चा चलेको थियो । तर नेकपाबाट एक्लै हुँदा पनि अत्याधिक मतले विजयी भएकाले एकिकरण पछि सहजै जित्न सकिने अपेक्षाका साथ उम्मेदवार बन्न धेरैले आंकाक्षा गरेका थिए ।

मुख्य निर्वाचन अधिकृत पुरुषोतम ढकालले निर्वाचन कार्यतालिकाका बारेमा कार्यालय उद्घाटनसँगै जानकारी गराउनु भएको थियो । निर्वाचनका बारेमा जिल्लामा सर्वदलिय बैठक समेत सम्पन्न भएको छ । काभ्रेपलाञ्चोक जिल्लामा धुलिखेल नगरपालिका वडा नम्वर २ मा मात्रैै उपनिर्वाचन हुँदैछ ।

निर्वाचनका लागि साउन १६ गतेसम्म १८ वर्ष पुगेका मतदाताहरुको संख्या १ हजार ८ सय ३४ रहेको छ । जसमा ९ सय ४९ महिला र ९ सय २८ पु्रुष रहेका छन् । स्थानीय तहको निर्वाचन २०७४ मा सोहि वडामा १ हजार ६ सय ४९ मतदाता थिए । जसमा ८ सय २८ महिला र ८ सय २१ पुरुष मतदाता थिए ।

जसमध्ये १ हजार ४ सय २ मत खसेको थियो । खसेको मध्ये १ हजार ३ सय ४४ मत सदर भएको थियो भने ५८ मत बदर भएको थियो । खसेको मध्ये नेकपाका उम्मेदवार स्वर्गिय राजन कोईरालाले ८ सय ३६ मत प्राप्त गर्नु भएको थियो भने एकिकृत नेकपा माओवादीका उम्मेदवारले २ सय ४८ मत प्राप्त गर्नु भएको थियो ।

अहिले नेकपा एमाले र एकिकृत नेकपा माओवादीको एकिकरण भए पछि उत्त मत बढ्ने देखिन्छ । नेपाली कांग्रेसका उम्मेदवारले २ सय ६० मत प्राप्त गरेका थिए । सोहि वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा १ हजार ८ सय ३४ मत खसेको थियो । २ वर्षमा ४ जना मतदाता मात्रै थपिएका छन् ।

निर्वाचन कार्यालयले सेतिदेवी मावीमा क र ख मतदान केन्द्र तय गरेको छ । उम्मेदवारहरुको विरोधमा उजुरी दिने समय आज कार्तिक २८ गते विहान ११ बजे देखि दिउसो साढे १ बजेसम्मलाई तोकिएको छ ।

मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन २९ गतेलाई तोकिएको छ भने उम्मेदवारी फिर्ता लिने कार्तिक ३० गतेलाई तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन कार्तिक ३० गते ३ बजे देखि ५ बजेसम्म तोकिएको छ ।

उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने मसिंर १ गते विहान ११ बजे देखि ४ बजेसम्मलाई तोकिएको छ । मतदान मसिंर १४ गते विहान ७ बजे देखि साँझ ५ बजेसम्मलाई तोकिएको छ । प्रतिनिधि सभाको निर्वाचन पछि देशभर १५ हजार मतदाता थपिएका छन् ।