एनएमबीद्वारा आत्मनिर्भर बनाउन महिलालाई व्यावसायिक तालिम प्रदान


यमलाल भुसाल, बुटवल ।

एनएमबी बैंकले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तीन महिने व्यावसायिक प्रशिक्षण सुरु गरेको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एनएमबी बैंक मणिग्राम शाखाले महिलाहरुलाई सिलाईकटाई तालिम प्रदान गर्न सुरु गरेको हो । मणिग्राममा बुधबारदेखि सुरु भएको तालिमको उदघाटन तिलोत्तमा नगरपालिका वडा नम्बर ५, ६ र ९ का वडाअध्यक्षले संयुक्त रुपमा गर्नु भएको हो ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष सुखदेव न्यौपानेले सीपलाई सदुपयोग गरी व्यवसाय सञ्चालन गर्न सकिने उल्लेख गर्दै तालिम केवल तालिमका लागि मात्र लिन नहुने बताउनु भयो । सीप सिकेर आत्मनिर्भर र स्वरोजगार बन्न सकेमात्रै तालिमको उपयोगिता सार्थक हुने उहांले बताउनु भयो ।

तिलोत्तमा वडा नम्बर ५ का वडाअध्यक्ष चेतनारायण भण्डारीले महिलाहरुलाई आय आर्यजनमा लगाउन नगरपालिकाले पनि सहयोग गरिरहेको भन्दै सीप सिकेर व्यवसाय गर्न चाहनेलाई न्यून ब्याजदरमा बीउ पुँजीको व्यवस्था नगरपालिकाले गरिदिने बताउनु भयो ।

वडा नम्बर ९ का वडाअध्यक्ष नारायण न्यौपानेले खाली समयलाई सदुपयोग गरेर सीपमुलक तालिम प्रदान गर्दा महिलाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै एनएमबी बैंकका संस्थापक एवं समाजसेवी रोमणिप्रसाद पाठकले सीपमूलक तालिम लिएपछि व्यवहारमा त्यसको उपयोग हुनुपर्ने भन्दै व्यवसाय गर्न चाहनेलाई पैसाको अभाव नहुने बताउनु भयो ।

बैंकका प्रदेश पाँच कार्यालयका प्रमुख सुरेन्द्रमान महर्जनले बैंकले सामाजिक क्षेत्रमा पनि आफूलाई अग्रणी बनाएको उल्लेख गर्दै महिलाहरु स्वरोजगार भएमात्रै आर्थिक समृद्धिको नारा सार्थक हुने बताउनु भयो ।

बैंकका प्रदेश प्रवन्धक कमल न्यौपानेले बैंकले सामाजिक क्षेत्रमा पनि योगदान पु¥याउँदै आएको भन्दै आगामी दिनमा सामाजिक उत्तरदायित्वको क्षेत्रलाई अझ बिस्तार गरेर लैजाने बताउनुभयो ।

बैंकका मणिग्राम शाखा प्रमुख युवराज पाठकले स्थानीय सरकारसँगको सहकार्यमा महिलाहरुलाई तीन महिने सिलाईकटाई तालिम प्रदान गर्न सुरु गरिएको भन्दै आगामी दिनमा तालिम लिएका महिलाहरु व्यवसायी बनेको हेर्न चाहेको बताउनु भयो ।

कार्यक्रममा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, तिलोत्तमा चेम्बर अफ कमर्शका उपाध्यक्ष रामचन्द्र पाण्डे, व्यावसायिक तालिम प्रशिक्षण केन्द्र मणिग्रामकी संयोजक सुनिता कार्कीलगायतले तालिमलाई फलदायी बनाउन सबैलाई आग्रह गर्नु भएको छ । तालिममा तिलोत्तमा वडा नम्बर ५, ६ र ९ का ३० जना महिला सहभागीता रहेको छ ।