पेस्तोलसहित अटो चालक पक्राउ  


न्युज अफ नेपाल, नेपालगञ्ज ।
अटो रिक्सामा नालकटुवा पेस्तोल राखेर घुमिरहेका एक चालकलाई प्रहरीले आज नेपालगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–४ उचेम साहका मेराजअलि सैयद रहेका छन् । उनलाई आज बिहान पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाकेँले जनाएकाे छ ।

आज बिहान नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर चोकबाट भे १ स ८३२६ नम्बरको अटोरिक्साको डिग्गीमा कालो प्लास्टिकको झोलामा लुकाइ राखिएको पेस्तोल बरामद भएको थियो । बरामद भएको पेस्तोल, अटो र त्यसका चालक सैयदलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

यसअघि यही कात्तिक १४ गते जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते भिलेज रेष्टुराँबाट तरुणदलका जिल्ला सभापति सन्दीपजङ्ग शाहलाई पनि अमेरिकन पेस्तोलसहित कोहलपुर इलाका प्रहरी कार्यालयले नियन्त्रणामा लिएको थियो ।