इचङ्गुनारायण मन्दिरमै बन्यो चार नारायणको मन्दिर

0
Shares

काठमाडौं,(नेस) ।

नागार्जुन नगरपालिका वडा नं. ३ स्थित इचङ्गुनारायण मन्दिर लाग्ने एक महिना मेला सम्पन्न भएको छ ।

कोजाग्रत पूर्णिमाको दिनदेखि कात्तिक पूर्णिमाको दिनसम्म लाग्ने एक महिने मेला मंगलवार सखिमना पूर्णिमाको दिन समापन भएको हो ।

कात्तिक पूर्णिमाका दिनदेखि नै मन्दिरमा विभिन्न भजन किर्तन गरी शुरु भएको मेला हरिबोधनी एकादशीका  दिन भने बिशेष मेला लागेको थियो ।

चार नारायण मध्येका कान्छो नारायणको रुपमा रहेका इचङ्गुनारायण मन्दिरमा सखिमना पूर्णिामाका दिन विशेष पूजा गरिने इचनङ्गु नारायण मन्दिर संरक्षण समितिले जनाएको छ ।

सखिमना पूर्णिमाका दिन साँझ स्थानीयहरुले विभिन्न फलफूल, गेडागुडी, अन्न र रोटीसहितको नारायणको मूर्ति निर्माण गरी भजन किर्तन गर्ने गरिएको नागार्जुन नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रेमलाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले कोजाग्रत पूर्णिमाका दिन शुरु भएको मेला सखिमना पूर्णिमा दिन विभिन्न अन्न,फलफूल र गेडागुडी सहितको नारायणको मूर्ति बनाएको र त्यहाँ चढाइएको प्रसाद खाएर मात्र मेला सम्पन्न हुने बताउनुभयो । परापूर्व कालदेखि नै यसरी नै एक महिने मेला हुँदै आएको छ ।

इचङ्गु नारायण मन्दिर संरक्षण समितिका अध्यक्ष श्रीलाल श्रेष्ठले समितिले मूल नारायणको मन्दिर अगाडि लक्ष्मीनारायण कुण्ड र सँगै चारनारायणको मूर्ति समेत स्थापना गरिएको बताउनुभयो ।

उहाँले इचङ्गुनारायणमै चार नारायणको मन्दिर स्थापना गरिएकाले  भक्तजनले इचङ्गुनारायण मन्दिरबाटै चारनारायणको दर्शन गर्न सकिने व्यवस्था गरिएको बताउनुभयो ।

मन्दिरको भौतिक पूननिर्माणका लागि नागार्जुन नगरपालिकाले विविध कार्य गर्दै आएको नागार्जुन नगरपालिकाले जनाएको छ ।