काभ्रेमा शुरु भयो ‘मोजो’ पत्रकारिता


मोतीराम तिमल्सिना, काभ्रे ।

आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले सरकार नया ट्रयाकमा हिडिरहेको बताउनु भएको छ । ‘हामी ठिक ढंगले अगाडी बढिरहेका छौं, परिणाम केहि समय पछि आउँछ’–मन्त्री जमरकट्टेलले भन्नुभयो ।

पहिलो पटक ३ नं प्रदेश प्रेस रजिस्ट्रारको कार्यालय हेटौँडाको आयोजनामा पाँच दिने मल्टिमिडिया तथा मोबाईल पत्रकारिता (मोजो) तालिम काभ्रेपलाञ्चोकको धुलिखेलमा मंगलबारबाट सुरू भएको हो ।

तालिममा काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाका २० जना पत्रकारहरूको सहभागिता रहेको छ । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री जमरकट्टेलले संचार रजिस्टारको कार्यालय गठन गरी आर्थिक र प्रशासनिक सहितको राजनीतिक नियुक्ति गरी प्रदेश ३ भित्र रहेका संचारमाध्यम र संचारकर्मीहरुको ब्यवस्थापन गर्न लागिएको बताउनु भयो ।

त्यसको शुरुवात भईसकेकाले सबै संचारकर्मीहरुले त्यसको अनुभुती गर्ने गरी कार्य गरिने मन्त्री जमरकट्टेलले बताउनु भयो । मन्त्री जम्मकट्टेलले ३ नं प्रदेशका सबै पत्रकारहरूको हक हित र क्षमता अभिबृद्वि लगायतका लागि आफ्नो मन्त्रालयले प्रेस रजिस्ट्रारको कार्यालय स्थापना गरि काम सुरू गरेको बताउनु भयो ।

सरकारी तवरबाट पहिलोपटक मोबाईल जर्नालिजमलाई प्रर्वद्धन गर्न गर्न मोजो तालिमको आयोजना गरिएको ३ नं प्रदेश प्रेस रजिस्ट्रार रेवती सापकोटाले बताउनु भयो । मल्टिमिडिया तथा मोबाईल जर्नालिजम (मोजो) नेपाली पत्रकारितामा नविनतम अभ्यास हो ।

मोबाईलबाट फोटो खिच्ने, समाचार टाईप र सम्पादन गर्ने, वेव होस्टिङ लगायतको कार्यलाई मोजो जर्नालिजमको रूपमा परिभाषित गरिएको रजिस्ट्रार सापकोटाले बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, पत्रकार महासंघ प्रदेश नम्वर ३ का अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष यदुनाथ गौतम, मन्त्रालयका तर्फबाट ज्ञानदिप राई लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, रामेछाप शाखाका अध्यक्ष रमेश ढुंगेल लगायतको सहभागिता रहेको थियो ।