इटहरीमा रोकिएको रानी-धरान छ लेन सडक सुचारु


रोशनी भट्टराई, विराटनगर ।

रानी–विराटनगर–इटहरी–धरान सडक अन्तरगत लामो समयदेखि विवादका कारण रोकिएको इटहरीको मुख्य चौक क्षेत्रको काम शुरु भएको छ । विवादका कारण रोकिएको काम स्थानीयबासीकै सहमतिमा सुरु भएको हो ।

रानी–विराटनगर–इटहरी–धरान सडकलाई सिक्स लेन बनाउनका लागि विभिन्न खण्डामा काम भइरहँदा इटहरीको मुख्य चौक क्षेत्रमा विवादका कारण रोएिको थियो ।

मुख्य बजार क्षेत्रमा रहेका धेरै घरहरु भत्कने भन्दै स्थानीयले विरोध जनाएपछि काम हुन सकिरहेको थिएन । तर सोमबार इटहरी चौकबाट उत्तरमा बाटो पश्चिमतर्फको नाला खन्ने काम सुरु गरिएको छ ।

दुवैतर्फ गरि ६५ मिटर सडक क्षेत्र कायम गर्ने गरी सहमति भएपछि काम शुरु गरिएको हो । रानी विराटनगर इटहरी धरान सडक योजनाका इञ्जिनियर गौतमकुमार देवका अनुशार इटहरी बजार क्षेत्रका आठ वटा घरको २० देखि २५ सेन्टीमिटर भत्कने अवस्था रहेको भएपनि ठूलो क्षति हुने अवस्था छैन । सबैको सहमति भएपछि काम सुरु भएको उनको भनाइ छ ।

रानी विराटनगर इटहरी धरान ३९ किलोमिटर क्षेत्र मध्ये ३४ किलो मिटरमा काम भई रहेको जनाइएको छ । सो सडक योजनाको काम आगामी असार मसान्तसम्ममा सम्पन्न गरिसक्नु पर्ने भएपनि इटहरीमा सिमा कायम गर्ने काम समेत हुन सकेको थिएन ।

सडक विस्तार गर्ने विषयमा सहमति भएर नै काम सुरु भएको उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा स्थानीय व्यवसायी रोहित प्रसाईको भनाइ छ । सडक विस्तारमा अब कुनै विवाद नरहेको भन्दै उहाँले कामलाई तिव्र गतिमा अघि बढाउन आफुहरुले पनि समन्वय गर्ने प्रतिवद्धता जनाए ।

अन्य व्यापारी तथा स्थानीयबासीले समेत ढिलै भएपनि सडक निर्माणको काम सुरु भएकोमा खुशी व्यक्त गर्दै चाँडो भन्दा चाँडो काम सक्नुपर्नेमा जोड दिएका छन् ।

सडक क्षेत्र विस्तार गर्ने क्रममा विद्युत पोल तथा खानेपानीको पाइप समेत समयमै व्यवस्थीत गर्नुपर्ने अवस्था रहेको छ । खानेपानीको धेरै पाइपहरु ६५ मिटर क्षेत्रमै भएको कारणले धेरै क्षति पुग्ने अनुमान गरिएको छ ।