नेपालको कृषि व्यापारमा जापानीको लगानीबारे छलफल


नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल र जापानबीच कृषि तथा व्यापारका क्षेत्रमा हुन सक्ने सहयोग एवं सहकार्य र यी क्षेत्रमा जापानी लगानीको सम्भाव्यता अध्ययन गर्न नेपाल भ्रमणमा आएको जापानी अध्ययन टोली र कृषि क्षेत्रमा लगानी गरिरहेका नेपाली उद्यमी व्यवसायीबीच महासंघ सचिवालयमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भयो।

कृषि तथा व्यापारका क्षेत्रमा नेपालमा लगानीका सम्भाव्यता अध्ययन गर्ने, कसरी जापानी लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्न सकिन्छ र बाह्य लगानी आकर्षणमा देखापरेका व्यवहारिक कठिनाईहरूका विषयमा कृषि क्षेत्रमा काम गरीरहेका नेपाली उद्यमी व्यवसायीबीच छलफल गर्न जापानी प्रतिनिधिमण्डल महासंघ सचिवालयमा आएको हो।

जापानी टोलीमा लगानीकर्ता, सरकारका प्रतिनिधिहरू, विज्ञहरू समेतको सहभागिता रहेको छ।

नेपाल बसाईका क्रममा प्रतिनिधिमण्डलले सरकार, निजी क्षेत्र र कृषि क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधि तथा नेपालबाट जापानमा व्यापार व्यवसाय गरिरहेका उद्यमी व्यवसायीसंग छलफल गरी आफ्ना सुझाव पेस गर्नेछ।

कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधानले कृषि क्षेत्रमा अपार सम्भाव्यता रहेकाले नेपालमा लगानीको राम्रो वातावरण रहेको सन्देश जापानी लगानीकर्तासम्म पुर्याउन टोलीलाई आग्रह गर्नुभयो।

पर्याप्त उर्वर भूमि, सस्तो श्रम शक्ति समेत रहेकाले कृषि क्षेत्रमा लगानीगर्दा छोटो समयमै निकै धेरै फाइदा उठाउन सकिने हुँंदा निर्धक्क भएर लगानी गर्न सकिने अवस्था रहेको समेत उहाँले जानकारी गराउनुभयो।

जापानी प्रतिनिधिमण्डलका टोली प्रमुख मिकियो टबाटाले अध्ययन भ्रमणको उद्देश्यबारे जानकारी गराउँदै कृषि, वन तथा मत्स्यपालन क्षेत्रमा फिल्ड तहमा नै सहयोग र सहकार्यका सम्भाव्यता खोजी गर्न आफूहरू नेपाल भ्रमणमा आएको स्पष्ट पार्नुभयो।